News Griha :: न्यूजगृह
काठमाडौंमा राति २ बजेदेखि वर्षा
फाइल तस्बिर।

काठमाडौं— काठमाडौं उपत्यकामा अहिले (सोमबार बिहान) वर्षा भइरहेको छ।

मौसम पूर्वानुमान महाशाखाका मौसमविद् राजुु प्रधानांगका अनुसार काठमाडौं उपत्यकामा राति २ बजेदेखि पानी परिरहेको हो।

‘अहिले हल्का वर्षा भइरहेको छ,’ उनले भने, ‘काठमाडौं उपत्यकाका प्रायः ठाउँमा पानी परेको छ।’ मौसम महाशाखाको विवरणअनुसार सबैभन्दा बढी बूढानीलकण्ठमा ४४.८ मिलिमिटर वर्षा मापन भएको छ।

यो भनेको झन्डै भारी वर्षा हो। ५० मिलिमिटर वर्षा हुनुलाई भारी वर्षा भनिन्छ। मौसमविद् प्रधानांगका अनुसार काठमाडौंमा भएको वर्षा मनसुनी वर्षा होइन।

‘यो स्थानीय वायुबाट विकसित प्रणालीबाट भएको वर्षा हो,’ उनले भने, ‘मनसुनले होइन, पोखरामा विकसित स्थानीय वायुको प्रणाली पूर्व सर्दै काठमाडौँमा वर्षा भएको हो, यो अझै पूर्व सर्दै छ, अब काठमाडौं उपत्यकामा पनि केही समयपछि वर्षा रोकिने सम्भावना छ।’

तर केहीबेर मौसम खुले पनि काठमाडौँ उपत्यकामा दिउँसो वा अपरान्ह पुनः वर्षा हुने सम्भावना देखिएको मौसमविद् प्रधानांगको भनाइ छ। 

Nepali-Patro-innerNepali-Patro-inner
प्रकाशित मिति: सोमबार, असार ३, २०८१  ०६:११
Weather Update