ताप्लेजुङ— ताप्लेजुङमा मनसुन सुरु भएसँगै बाढीपहिरोको वितण्डा सुरु भएको छ। जेठ ३० गतेदेखि ३२ गतेसम्ममा ताप्लेजुङमा बाढीपहिरोमा परि पाँचको मृत्यु भएको छ।
पहिरोले पुरिएर जेठ ३० गते ताप्लेजुङको सिरिजङ्घा गाउँपालिका वडा नं. ७ खेबाङमा निर्माणाधीन काबेली तेस्रो जलविद्युत परियोजनामा कार्यरत एक युवकको मृत्यु भएको थियो।
पाँचथरको फिदिम नगरपालिका–१४ लुङपा घर भएका २५ वर्षीय सविन राईको खेबाङको सिरिसे खोल्सामा सामान बोकेर जाँदै गरेको मे १ त ७९६९ नम्बरको ट्रयाक्टर सडक माथिबाट झरेको पहिरोले बगाउँदा राईको घटनास्थल मै मृत्यु भएको हो।
त्यस्तै बिहीबार राति आएको बाढी र पहिरोका कारण फक्ताङलुङ गाउँपालिका–२ खेजेनिमका एकै परिवारका चार जनाको मृत्यु भएको छ।
जिल्ला प्रहरी कार्यालय ताप्लेजुङका प्रहरी नायब उपरीक्षक रवि रावलका अनुसार गाउँपालिका उपाध्यक्ष विकास साम्रा लिम्बू (रविन)का बुबा ७० वर्षका रामबहादुर, कान्छी आमा ५० वर्षीया जसमाया र १० वर्षीया जुम्ल्याहा बहिनी गङ्गा–जमुनाको पहिरोले घर बगाउँदा मृत्यु भएको हो।
गत वर्षको असार २ गते आएको बाढी र पहिरोले ताप्लेजुङमा ३ जनाको मृत्यु भएको थियो भने तीन जना बेपत्ता भएका थिए भने लाखौँको भौतिक क्षति भएको थियो।
ताप्लेजुङमा जेठ ३० गते ३६.९ मिलिमिटर, जेठ ३१ गते १६.८ मिलिमिटर र जेठ ३२ गते २३.३ मिलिमिटर वर्षा भएको जल तथा मौसमविज्ञान कार्यालय धरान, ताप्लेजुङ फिल्ड कार्यालयले जनाएको छ।