काठमाडौं— बिहीबार राति गएको पहिरोमा परी ताप्लेजुङको फक्ताङलुङ गाउापालिका–२ खेजेनिम टिन्जामा एकै घरका ४ जनाको मृत्यु भएको छ। जिल्ला प्रहरी कार्यालयका प्रमुख डीएसपी रवि रावलका अनुसार फक्ताङलुङ गाउापालिकाका उपाध्यक्ष रवीन साम्राका बुबा, कान्छीआमा र उनीहरूका दुई सन्तानको मृत्यु भएको हो।
मृत्यु हुनेमा ७० वर्षीय रामबहादुर साम्रा, उनकी ४८ वर्षीय श्रीमती जसमाया लिम्बू छन्। त्यस्तै उनीहरूका १० वर्षका जुम्ल्याहा छोरीहरू गंगा र जमुनाको पनि पहिरोमा परी मृत्यु भएको छ।
राति सुतिरहेका बेला माथिबाट खसेको पहिरोमा उनीहरू पहिरोमा पुरिएका हुन्। सिंवा प्रहरी चौकी र मित्लुङ हाइड्रोपावरमा रहेको नेपाली सेनाको टोलीसहित स्थानीयले पहिरोबाट शव निकालेको डीएसपी रावलले जानकारी दिए।
त्यस्तै खेजेनिम मावि छेउमा गएको अर्को पहिरोमा परी ४० वर्षीय युगेन साम्रा र उनका तीन वर्षीया छोरी घाइते भएको नेपाल रेडक्रस सोसाइटी ताप्लेजुङले जनाएको छ। रेडक्रस सभापति इन्द्र गुरुङका अनुसार पहिरोले युगेनको घरमा क्षति पुर्याएको छ।
जिल्ला प्रहरी कार्यालयबाट प्रहरी निरीक्षक कमल लुङ्गेलीको थप टोली परिचालन गरिएको डीएसपी रावलले जानकारी दिए। अहिले सदरमुकाम फुङलिङसहित जिल्लाका धेरै ठाउँमा वर्षा भइरहेको छ।
तस्बिर सौजन्य: भुपेन्द्र चौलागाईं