दैलेख— दलितमाथि पछिल्लो समय विभेद भन्दा पनि हिंसा हुन थालेको दलित अधिकारकर्मीहरूले टिप्पणी गरेका छन्। कुनैबेला छोइछिटो गर्नेसम्मको मात्रै विभेद गर्ने समाजले पछिल्लो समय दलितलाई मार्ने सम्मको क्रियाकलाप गर्न थालेको प्रति उनीहरूले चिन्ता व्यक्त गरेका छन्।
दलितका लागि दलित अभियान नेपालले दैलेखमा गरेको विशेष जागरण सभामा अधिकारकर्मीहरूले दलितहरूले आफ्नो न्यायको लडाइँ एकताबद्ध भएर लड्नुपर्ने बेला आएको बताएका हुन्। कार्यक्रममा राष्ट्रिय दलित आयोगका अध्यक्ष देवराज विश्वकर्माले मानिसलाई जबर्जस्ती दलित बनाएर राज्यले अपराध गरेको बताए। उनले दलितको समस्या पुरै देशको समस्या भएकोले दलितसँगै गैरदलितहरूले पनि यो मुद्दालाई उत्तिकै संवेदनशील हिसाबले लिनुपर्नेमा जोड दिए।
त्यस्तै कर्णाली प्रदेश सभा सदस्य उर्मिला विश्वकर्माले दलित आन्दोलनको लागि आफू सबै त्यागेर लाग्न तयार रहेको बताइन्। दलित समुदायको न्याय र मुक्तिका लागि पार्टी भन्दा माथि उठेर लाग्नुपर्ने परिस्थिति बनेको ठहर गर्दै परिस्थिति आएको खण्डमा सबै दलितहरूले पार्टी राजनीति त्यागेर दलित आन्दोलनमा होमिनुपर्ने उनको जोड थियो। विश्वकर्माले कर्मचारीतन्त्र हावी हुँदा दलितमैत्री कानुन निर्माणमा पनि समस्या आएको बताइन्।
कार्यक्रममा दलितका लागि दलित अभियानका संयोजक खगेन्द्र सुनारले दलितहरू पार्टी कार्यकर्ता र नेताभन्दा माथि उठेर समुदायको लागि लड्नुपर्ने बेला आएको बताए। उनले आफ्नो लागि आफैँले लडाइँ नलड्दासम्म दलित समुदायले मुक्ति पाउन नकस्ने ठहर गरे। उनले दलित समुदायलाई एक ठाउँमा आएर आफ्नो न्यायको लागि आवाज उठाउन आह्वान समेत गरे।