काठमाडौं— कोशी प्रदेशका केही स्थानमा हल्का वर्षा भइरहेको छ। मनसुनी प्रणालीको प्रभाव रहेको यो प्रदेशका केही स्थानमा बिहानैदेखि हल्का वर्षा भइरहेको छ।
जल तथा मौसम विज्ञान विभागका अनुसार बिहान सुदूरपश्चिम, कर्णाली, कोशी प्रदेशलगायत पहाडी भूभागमा आंशिकदेखि साधारणतया बदली रहेको छ। बाँकी भूभागमा आंशिक बदलीदेखि मौसम मुख्यतया सफा छ।
विभागले दिउँसो कोशी प्रदेशलगायत बागमती र गण्डकी प्रदेशको पहाडी भूभागमा आंशिकदेखि साधारणतया बदली रहने जनाएको छ। बाँकी भूभागमा आंशिक बदलीदेखि मौसम मुख्यतया सफा रहनेछ।
कोशी, बागमती र गण्डकी प्रदेशका पहाडी भूभागका थोरै स्थानमा तथा बाँकी भूभागका एकदुई स्थानमा मेघगर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना छ।
विभागका अनुसार राति कोशी र गण्डकी प्रदेशको पहाडी भूभागमा आंशिकदेखि साधारणतया बदली रहनेछ। बाँकी भूभागमा आंशिक बदलीदेखि मौसम मुख्यतया सफा रहनेछ।
कोशी प्रदेशलगायत गण्डकी प्रदेशका पहाडी भूभागका थोरै स्थानमा तथा बाँकी भूभागका एकदुई स्थानमा मेघगर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना छ।
हाल देशको पूर्वी भूभागमा मनसुनी प्रणालीको प्रभाव छ। बाँकी भूभागमा स्थानीय वायु, पश्चिमी वायु तथा बिहार आसपास बनेको न्यूनचापीय क्षेत्रको आंशिक प्रभाव रहेको विभागले बताएको छ।