
झापा— गौरादह नगरपालिकामा छ वर्षीया बालिका बलात्कृत भएकी छन् । घरमा अभिभावक नभएको मौका छोपी ती बालिकालाई छिमेकी २१ वर्षीय प्रशान्त भट्टराईले पटक–पटक बलात्कार गरेको उजुरी परेको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ ।
पछिल्लोपटक २८ चैतमा बलात्कार गर्दा बालिका चिच्याएपछि घटना सार्वजनिक भएको थियो । सोही दिनदेखि आरोपी भट्टराई फरार छन् । जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी खगेन्द्र रिजालले पछिल्लोपटक बलात्कार भएलगत्तै गौरादह इलाका प्रहरी कार्यालयमा जाहेरी परेको र जिल्ला अदालतबाट अभियुक्तविरुद्ध पक्राउ पुर्जी जारी भएको जानकारी दिए ।
फरार अभियुक्त भट्टराईको खोजतलास भइरहेको उनले बताए । फरार आरोपी पक्राउ पर्न नसक्दा पीडितको परिवारमा त्रास बढेको छ । गत पुसमा पनि अभियुक्त भट्टराईले बालिकालाई बलात्कार गरेको पीडित पक्षको भनाइ छ ।
प्रहरीले पीडित बालिकाको स्वास्थ्य जाँच गरिसकेको छ । हाल बालिका आफ्नै घरमा रहेकी छन् । पीडित बालिकाको हात, खुट्टा र पेट सुन्निन थालेको जनाउँदै स्थानीय चिकित्सकबाट उपचार गराइरहेको पीडित पक्षले बताएको छ ।
‘नानी अहिले पनि बिरामी अवस्थामै छिन्, हातखुट्टा सुन्निएको देखिन्छ’, बालिकाकी माइजूले भनिन्,‘घटना थाहा पाएलगत्तै प्रहरी कार्यालयमा उजुरी दिएका थियौँ । अपराधी पक्राउ परेको छैन ।’
जिल्ला प्रहरी कार्यालय झापाका प्रहरी नायब उपरीक्षक रिजालले पीडितले किटानी जाहेरी दिइसकेको र आरोपीविरुद्ध पक्राउ पुर्जी जारी भइसकेको हुँदा अभियुक्त छिट्टै पक्राउ पर्ने बताए ।
फरार अभियुक्त भट्टराईकी आमा रीता भट्टराईले तीन लाखको प्रलोभन देखाउँदै घटनालाई मिलाउन दबाव दिने गरेको पीडितकी माइजूले बताइन् ।
अभियुक्तकी आमाले दैनिकजसो पीडितको घरमा आएर घटना मिलाउन र प्रहरीमा दिएको उजुरी फिर्ता लिन धम्की दिने गरेको उनको भनाइ छ ।
‘अपराध गर्ने व्यक्ति पक्राउ नपर्नु र पैसाको लोभ देखाएर उजुरी फिर्ता लिन दबाव दिइनुले हामी त्रासमा परेका छौँ,’ पीडितकी माइजूले भनिन्,‘बलात्कृत नानीको स्वास्थ्य अवस्था नाजुक छ । परिवारसँग उपचार गर्ने पैसा पनि छैन । हामीलाई पैसा होइन, न्याय चाहिएको छ ।’