काठमाडौं— त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट भन्सार छलेर ल्याइएको अन्दाजी २५ ग्राम सुनसहित प्रहरीले दुई जनालाई पक्राउ गरेको छ।
पक्राउ पर्नेमा पाँचथर फालेजुङ गाउँपालिका–३ घर भएका ३२ वर्षीय दिलु सुब्बा र सिन्धुली कमलामाई नगरपालिका–५ घर भई हाल काठमाडौं महानगरपालिका–३२ बस्ने ३९ वर्षीय भविमान ठोकर रहेका छन्।
हिमालयन एअरलाईन्सको उडानद्वारा दुबईबाट काठमाडौं आएका सुब्बालाई भन्सार छली गर्न लगाई ठोकरले सिक्री एक थान, आईफोन १३ प्रो म्याक्स एक थान, रेडमि मोबाइल तीन थान, डेल ल्यापटप दुई थान र एक थान एयरपोड प्रो चारसहित संकलन गरी लैजान लागेको अवस्थामा त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलबाट सोमबार पक्राउ गरिएको हो।
पक्राउ परेका दुवै जनालाई आवश्यक अनुसन्धान तथा कारबाहीका लागि त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल भन्सार कार्यालय गौचरमा बुझाइएको प्रहरीले जनाएको छ।