News Griha :: न्यूजगृह
खडेरीले रोकिएन डढेलो

बाग्लुङ— खडेरीका कारण यस वर्ष बाग्लुङका सामुदायिक वनमा आगलागीका घटना बढेका छन् । विगत वर्षको तुलनामा बढी गर्मी र खडेरी परेका कारण आगलागीका घटना बढ्दै गएको पाइएको छ । यस वर्ष चैतको अन्तिम सातादेखि वैशाख पहिलो सातासम्म २२ वनमा आगलागी भइसकेको छ ।

गर्मीयाम सुरु भएपछि हालसम्म चार सय १५ हेक्टर वन क्षेत्रमा आगलागी भएको छ । सुक्खायाम सुरु भएसँगै बाग्लुङको करिब चार सय ५० हेक्टर वन क्षेत्रमा आगलागी भएको छ र तीमध्ये पाँच राष्ट्रिय र १७ सामुदायिक वनमा आगलागी भएको डिभिजन वन कार्यालय बाग्लुङले जनाएको छ ।

गत १८ माघमा पहिलोपटक जिल्लाको तमानखोला गाउँपालिकाको खुङ्खानीमा पर्ने हापली छहरा मठूरे राष्ट्रिय वनमा आगलागी भएको थियो । चार दिनसम्म फैलिएको आगलागीले दुई सय हेक्टर वनक्षेत्र मासेको डिभिजन वन कार्यालय बाग्लुङको तथ्याङ्क छ ।

माघदेखि सुरु भएको आगलागीको शृङ्खला अझै रोकिएको छैन । शनिबार मात्रै तितौरे वनमा आगलागी भएको डिभिजन वन अधिकृत मुकुन्दप्रसाद अधिकारीले जानकारी दिए । अधिकारीका अनुसार अझै आगलागीको तथ्याङ्क थपिनेछ । अहिले पनि तथ्याङ्क सङ्कलनको काम भइरहेको छ । सामुदायिक तथा निजी आवादी वनक्षेत्र र सामुदायिक तथा राष्ट्रिय वनमा आगलागी भएको छ ।

‘गर्मीयामका कारण आगलागीका घटना बढेका छन्, अहिले कतिपय वनमा आगलागी भइरहेको छ, वर्षा नहुन्जेल आगलागीका घटना रोकिने अवस्था छैन’, अधिकारीले भने, ‘आगलागी नियन्त्रणका लागि हामीले जनचेतना फैलाएका छौँ, तर आगलागीका घटना झनै बढेका छन् ।’

डिभिजन वन अधिकृत अधिकारीका अनुसार जानी–जानी वा दुर्घटनावश बिहीबारसम्म बाग्लुङका २२ वनमा डढेलो लागेको तथ्याङ्क छ । केही तथ्याङ्क भने आउनै बाँकी छ ।

प्रकाशित मिति: आइतबार, वैशाख १०, २०८०  २१:४६
Weather Update