News Griha :: न्यूजगृह
गण्डकीमा ‘फ्लोर क्रस’ गरेका देवकोटालाई माओवादीले कारबाही गर्ने

काठमाडौं— नेकपा माओवादी केन्द्रका अध्यक्षसमेत रहेका प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले गण्डकी प्रदेशमा फ्लोर क्रस गरेका फणीन्द्र देवकोटालाई कारबाही हुने बताएका छन्।

पार्टीले ह्वीप जारी गरिसकेको अवस्थामा उनले फ्लोर क्रस गरेकाले स्वाभाविकरूपमा कारबाही हुने उनको भनाइ छ।दुईदिने भारत भ्रमण सकेर सोमबार साँझ स्वदेश फर्किएका प्रचण्डले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा सञ्चारकर्मीसँग देवकोटाले संविधान र कानुनको मर्मविपरीत फ्लोर क्रस गरेको बताए।

‘गण्डकीमा पार्टीले ह्वीप जारी गरिसकेको थियो। संविधान र कानुनको मर्म र मान्यताविपरीत फ्लोर क्रस गरेकालाई स्वाभाविकरूपमा कारबाही हुन्छ,’ उनले भने। त्यस्तै, माओवादी केन्द्र गण्डकी प्रदेश संसदीय दलका नेता हरिबहादुर चुमानले दलको बैठक बसेर कारवाहीको निर्णय गर्ने जानकारी दिए।

‘दलले जारी गरेको ह्वीप उल्लंघन गरेकोले उहाँलाई कारवाही गर्ने प्रक्रिया अघि बढिसकेको छ,’ चुमानले न्यूजगृहसँग भने, ‘आज सुरु भयो अब सबै प्रक्रिया पूरा गरेर हामी प्रदेश सभा सचिवालयलाई जानकारी गराउँछौँ।’ 

माओवादी केन्द्रको चुनाव चिह्नबाट निर्वाचित देवकोटाले फ्लोर क्रस गरेर सोमबार मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेलाई विश्वासको मत दिएका थिए। उनले आफूलाई नेपाल समाजवादी पार्टी (नेसपा)को सांसद बताउँदै आएका छन्। 

प्रकाशित मिति: सोमबार, जेठ २८, २०८१  २१:११
Weather Update