
काठमाडौं—गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले विश्वासको मत प्राप्त गरेका छन्। सोमबार बसेको प्रदेश सभा बैठकमा मुख्यमन्त्री पाण्डेले ३१ मतसहित विश्वासको मत प्राप्त गरेका हुन्।
उनलाई उनको दल नेपाली कांग्रेसका २७, राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का २, स्वतन्त्र सांसद राजिव गुरुङ (दीपक मनाङे) र माओवादी केन्द्रको चुनाव चिह्नबाट निर्वाचित नेसपाका फणीन्द्र देवकोटाले विश्वासको मतको पक्षमा मतदान गरेका हुन्।
त्यस्तै उनको विपक्षमा एमालेका २२, माओवादी केन्द्रका ६ प्रदेश सभा सदस्य गरी २८ मत परेको हो। ६० सदस्यीय प्रदेश सभामा बहुमतका लागि ३१ मत आवश्यक रहन्छ।
यो मुख्यमन्त्री पाण्डेको दोस्रो कार्यकाल हो। उनी यसअघि गण्डकीको ११ महिना सरकारको नेतृत्व गरेका थिए। तर केन्द्रीय राजनीतिक समीकरणमा आएको फेरबदलपछि उनले राजीनामा दिएका थिए। त्यसपछि नियुक्त भएका मुख्यमन्त्री एमालेका खगराज अधिकारीले प्रदेश सभाबाट विश्वासको मत प्राप्त गरे पनि त्यसमा सभामुखको समेत समर्थन रहेपछि उक्त विषय सर्वोच्च अदालतमा पुगेको थियो।
सर्वोच्च अदालतले अधिकारीले लिएको विश्वासको मत अवैध रहेको ठहर गर्दै पाण्डेलाई मुख्यमन्त्री नियुक्त गर्न परमादेश दिएको थियो। सर्वोच्चको आदेश अनुसार पाण्डे गत जेठ १६ गते गण्डकीको मुख्यमन्त्रीमा नियुक्त भएका थिए।