काठमाडौं— रुकुम पश्चिमको मुसीकोट नगरपालिका–१ नेपानेमा जीप दुर्घटना हुँदा तीनजनाको मृत्यु भएको छ। तीन जना घाइते छन्। मुसीकोट नगरपालिका–१ खलङ्गाबाट बाँफिकोट गाउँपालिकाको –४ छिनखेत जाँदै गरेको वर्ल्ड लिङ्क कम्युनिकेसनको डबल क्याप जीप आइतबार बेलुकी साढे ९ बजे दुर्घटना भएको थियो।
गाडी चालक सुर्खेतको गुर्भाकोट नगरपालिका-८ मेहलकुनाका ३० वर्षीय धर्मेन्द्र श्रेष्ठ, बर्दियाको ठाकुरबाबा नगरपालिका-५ कालीगौडीका २७ वर्षीय सौगात विक र सुर्खेतको बराहताल गाउँपालिका-५ बड्डीचौरका १९ वर्षीय जितबहादुर कार्कीको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय रुकुम पश्चिमका प्रवक्ता प्रहरी निरीक्षक बखत शाहीले जानकारी दिए।
उनका अनुसार घटनास्थलबाट उद्धार गरेर जिल्ला अस्पताल सल्ले ल्याइएका उनीहरूलाई चिकित्सकले मृत घोषित गरेका थिए। घाइते हुनेमा रुकुम पश्चिमको बाँफिकोट गाउँपालिका-४ छिनखेतका १७ वर्षीय सुजल विक, बर्दियाको ठाकुरबाबा नगरपालिका-५ बनकट्टीका २६ वर्षीय दिलीप थापा र बर्दियाको ठाकुरबाबा नगरपालिका-५ कालीगौडीका २७ वर्षीय टीकाराम खनाल छन्।
सुजल र टीकारामको अवस्था गम्भीर छ। उनीहरूलाई जिल्ला अस्पतालमा सामान्य उपचारपछि थप उपचारका लागि नेपालगञ्ज रेफर गरिएको छ। दिलीप भने बोल्न सक्ने अवस्थामा रहेको र जिल्ला अस्पतालमै उपचार भइरहेको छ।
नेट जडानको काम गरिरहेका उनीहरू बाँफिकोटको छिनखेत जाँदै थिए। बाँफिकोट क्षेत्रमा फाइबर नेट विस्तार गरिरहेका उनीहरू छिनखेतमा बस्दै आएका थिए। प्रहरीका अनुसार गाडी सडकबाट करिब २०० मिटर भन्दा तल खसेको थियो ।