News Griha :: न्यूजगृह
NLIC-Below-Navigation-innerNLIC-Below-Navigation-inner
किन बारम्बार रोकिइरहन्छ चन्द्रागिरि केबलकार ? 

काठमाडौं— चन्द्रागिरिमा सञ्चालित केबलकार बीचबाटो मै बन्द हुँदा शुक्रबार सयौँ यात्रुले सास्ती खेपे ।

दिउँसो ३ बजे केबलकारमा अडकिएका यात्रुहरूको राति ९ बजेमात्र उद्धार गरिएको थियो । व्यवस्थापनको चरम लापर्बाहीका कारण चन्द्रागिरि हिल्सले सञ्चालन गरेको केबलकारमा बारम्बार यात्रुले सास्ती पाइरहेका छन् । शुक्रबारको घटना पहिलो होइन ।

बिना सूचना केबलकार सञ्चालन हुँदा बिदाको दिन शनिबार चन्द्रागिरि घुम्न र केबलकार शयर गर्न पुगेका हजारौँ यात्रुले पनि दुःख पाए । व्यवस्थापन पक्ष प्राविधिक कमजोरीलाई स्वीकार्न तयार छैन । हावाहुरीको कारणले केबलकार बीचमा रोक्नुपरेको चन्द्रागिरि हिल्सका पब्लिक अफिसर्स रामप्रसाद खनालले जानकारी दिए । 

Prabhu Bank

उनले भने, ‘हावाहुरीपछि केबलकारमा प्राविधिक समस्या आयो, अनि केबलकार अडकियो ।’ चन्द्रागिरि हिल्सका व्यवस्थापन पक्षले सूचना लुकाउँदा केबलकार चढ्न पुगेका यात्रुहरू मर्कामा परेका हुन् । तर, केबलकारको व्यवस्थापनमा रहेका झलकराज शर्माले केबलकार सेवा अवरुद्ध रहेको जानकारी सामाजिक सञ्जाल फेसबुकबाट दिएको दाबी गरे ।

उनले भने, ‘हामीले फेसबुकबाट जानकारी दिएका थियौँ । अब हावाहुरी, चट्याङ्ग कतिबेला हुन्छ भन्न सक्दैनौँ, तर, हावा बहाव बढेपछि बन्द गर्ने गर्छौँ । प्राविधिक गडबडी भएका कारण चेकजाँच गर्नुपर्छ भनेर नोटिस जारी गरेका थियौँ ।’  

उक्त सूचना चन्द्रागिरि हिल्सको वेबसाइटमा देखिन्न । तर, फेसबुकमा भने बिहान करिब १० बजे सूचना पोष्ट गरेको देखिन्छ । ‘शुक्रबार करिब ३ बजेबाट सुरु भएको हावाहुरीका कारणले केबलकार सेवा सञ्चालनमा अवरोध हुन गयो । हावाहुरी कम भए पश्चात केबलकारसँग सम्बन्धित सम्पूर्ण उपकरणहरूको चेक जाँच गराउनुपर्ने भएकाले आज मिति २०८०-०१-०९ गते शनिबारका दिनमा समेत सो चेकजाँचको कार्य निरन्तर भइरहेको हुँदा केबलकार सेवा थप केही समय अवरुद्ध रहने व्यहोरा जानकारी गराउँदछौँ’, सूचनामा उल्लेख छ ।

तर, सूचनामा व्यवस्थापन पक्षले शनिबार दिनभर सेवा अवरुद्ध हुने भनेर स्पष्ट खुलाएको छैन । अघिल्लो दिनको घटनाबारे खासै जानकारी नभएपछि मानिसहरू बिदाको दिन काठमाडौं र आसपासका क्षेत्रका मनोरम दृश्य अवलोकन गर्न चन्द्रागिरिमा पुगेका थिए ।  

चन्द्रागिरि हिल्सका सेल्स म्यानेजर प्रभाकर खड्का प्रायः हावाहुरी र चट्याङ आउँदा केबलकार सञ्चालन बन्द हुने गरेको बताउँछन् । ‘हावाहुरीमा बन्द गर्छौँ । शनिबार सञ्चालन गर्दा चलेको थियो । तर, अष्ट्रेलियाली प्राविधिक टोली ल्याएर दिनभर राम्ररी चेकजाँच गयौँ र आज बिहान पनि बनाइरहेका थियौँ,’ उनले भने । उनले बिजुली सेवा अवरुद्ध हुँदा पनि केबलकार जेनेरेटरबाट करिब ४५ मिनेटसम्म चल्ने दाबी गरे ।

तर, बारम्बार केबलकार सञ्चालनमा अवरोध आउनुको कारण भने व्यवस्थापन पक्षले खुलाउन चाहेन ।

झलकराज शर्मा भन्छन्, ‘तपाई गाडी कुदाइरहँदा अचानक पेट्रोल सकिन या यान्त्रिक गडबडीले गुड्न छोड्न सक्छ । केबलकार पनि त्यस्तै हो । मेसिन हो, जे पनि हुनसक्छ । फेरि प्राकृतिक विपत्ति कतिबेला आउँछ, कसले भन्न सक्छ ?’

तर, उनले दाबी गरेको जस्तो प्राकृतिक विपद् हावाहुरी कतिबेला आउँछ थाहा नहुने भन्ने हुन्न । जल तथा मौसम विभागले दिनहुँ तीन दिनको मौसम पूर्वानुमानको विवरण दिने गर्छ । जसमा हावाहुरी, वर्षा र चट्याङको बारेमा समेत जानकारी दिइन्छ । त्यसमाथि, नेपालमा फागुन, चैत र वैशाख हावाहुरीको महिना रहेको जगजाहेर नै छ ।  

केबलकार यात्रु बीचमै अड्किने समस्या पुरानै 

नेपाल उद्योग वाणिज्य महासंघका नवनिर्वाचित अध्यक्ष चन्द्र ढकालद्वारा सञ्चालित केबलकारमा चल्दाचल्दै बीचमै अडकिएको र यात्रु फसेको यो पहिलोपटक होइन । 

यसअघि पनि प्राविधिक समस्याका कारण केबलकार अड्केका छन् । २२ असार २०७९ मा राष्ट्रिय सभा अध्यक्ष गणेशप्रसाद तिमिल्सिनासहित ४ सय बढी यात्रु केबलकारमा यान्त्रिक गडबडीपछि डिब्बाभित्र फसेका थिए । त्यसबेला जेनेरेटरले काम नगरेपछि लठ्ठा तानेर यात्रुहरूकोउद्धार गरिएको गोरखापत्रले जनाएको छ । 

यस्तै, १६ चैत २०७८ मा पनि अचानक केबलकार बन्द भएपछि ३७ यात्रु फसेका थिए । असार २०७५ मा पनि केबलकार अचानक बन्द भएको थियो । त्यसबेला विशिष्ट पाहुनासहित बालबालिका र विदेशी नागरिकसमेत केबलकारमा अलपत्र परेका थिए । 

गल्ती स्विर्कादैन कम्पनी

व्यवस्थापन पक्षले केबलकारमा समस्या आउँदा सधैँ हावाहुरी, वर्षा र विद्युत् आपूर्तिमा समस्या देखाउने गरेको छ । तर, समस्याको स्थायी समाधान भने खोजेको देखिन्न । यसपालिको समस्या आइतबार मध्याह्न पछि समस्या समाधान भयो । 

तर, हावाहुरीको मौसम सकिएको छैन । त्यसैले कुनै पनि बेला चलिरहेको केबलकार बन्द हुँदा यात्रुले ज्यानको जोखिमसमेत मोल्नु परेकै छ ।  

Nepali-Patro-innerNepali-Patro-inner
प्रकाशित मिति: आइतबार, वैशाख १०, २०८०  १५:२९
Weather Update