News Griha :: न्यूजगृह
गुल्मीमा जीप दुर्घटनाः एक जनाको मृत्यु, सात घाइते

गुल्मी— गुल्मीमा जीप दुर्घटना हुँदा एकजनाको मृत्यु भएको छ भने सात जना घाइते भएका छन्।

आज बिहान चन्द्रकोट गाउँपालिकाबाट कालीगण्डकी गाउँपालिकाको पूर्तिघाटतर्फ जाँदै गरेको ग २ च ३२६२ नम्बरको बोलेरो जीप दुर्घटना भएको हो।

उक्त दुर्घटनामा सत्यवती गाउँपालिका–८ भार्सेका ३२ वर्षीया कमला बुढाथोकीको मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक शङ्कर पोखरेलले जानकारी दिए। 

उनका अनुसार जीप आफैँ अनियन्त्रित भई सडकदेखि चार सय मिटर तल खसेर दुर्घटना भएको थियो।

दुर्घटनामा घाइते भएकामध्ये चार जनाको अवस्था गम्भीर रहेको प्रहरी नायब उपरीक्षक पोखरेलले बताए। उनका अनुसार घाइते सबैलाई उपचारका लागि पाल्पा पठाइएको छ। 

प्रकाशित मिति: सोमबार, जेठ २१, २०८१  १२:३२
Weather Update