काठमाडौं— सुदूरपश्चिम प्रदेशको राजधानी धनगढीको तापक्रमले नयाँ रेकर्ड बनाएको छ। बिहीबार दिउँसो धनगढीको तापक्रम ४४ दशमलव १ डिग्री सेल्सियस मापन गरिएको हो।
मौसम विज्ञान विभाग अन्तर्गतको महाकाली बेसिन फिल्ड कार्यालय अत्तरियाकाअनुसार बुधबार मापन गरिएको रेकर्ड ब्रेक गर्दै बिहीबार ४४.१ डिग्री सेल्सियस मापन गरिएको हो। कार्यालयका मौसम विज्ञान सहायक सिंगल चौधरीका अनुसार बुधबार हालसम्मकै धेरै अर्थात् ४३ दशमलव ३६ डिग्री सेल्सियस मापन गरिएको थियो। यो २८ वर्ष यतकै उच्च तापक्रम रहेको उनले बताए। तर बिहीबार उक्त रेकर्ड तोड्दै तापक्रम थप बढेको हो।
धनगढीमा सन् १९९६ पछि पहिलोपटक सबैभन्दा धेरै तापक्रम रेकर्ड भएको हो। त्यस्तै तापक्रम अझै बढ्न सक्ने भन्दै सचेत रहन नागरिकहरुलाई आग्रह गरिएको छ। केहीदिन देखि निरन्तर तापक्रम बढ्दै गएपछि देशभरको जनजीवन प्रभावित बन्दै गएको छ।
तराईसहित सुदूरपश्चिमका केही जिल्लामा तातो हावा ‘लू’ का कारण जनजीवन कष्टकर बनेपछि धेरै स्थानमा विद्यालयहरु समेत बन्द गरिएको छ।