मुगु— मुगुम कार्मारोङ गाउँपालिका–१ डोल्फु गाउँमा हतियारधारी समूहले लुटपाट गरेको छ। गाउँका अधिकांश मानिसहरू यार्सागुम्बा संकलन गर्न पाटन गएको मौका छोपी हतियारधारी समूहले शनिबार साँझ लुटपाट गरेको हो।
गाउँमा वृद्धवृद्धा र अशक्त रहेको अवस्थामा लुटेरा समुहले डोल्फु गाउँमा रहेका २३ घरबाट नगद, गहना, सरसामानलगायत चोरी गरेको मुगुम कार्मारोङ गाउँपालिकाका अध्यक्ष छिरिङ क्याप्ने लामाले जानकारी दिए।
बन्दुक, खुकुरीसहित आएको हतियारधारी समूहले घर फोडेर सुनचाँदी, पुराना भाँडाकुँडा, जडीबुटी, लत्ताकपडालगायत सामान लुट्नुका साथै गाउँमा भाएका कुकुर र गुम्बाका पुजारीलाईसमेत कुटपिट गरेको अध्यक्ष लामाले जानकारी दिए।
‘२३ घरमा लुटपाट गरेछन्। गाउँमा रहेका गुम्बाका पुजारी र कुकुरहरूलाई लुटेरा समुहले मरणासन्न हुने गरी कुटपिट गरेछन्। घटनाबारे प्रहरीले थप अनुसन्धान गर्ने छ,’ मुगुम कार्मारोङ–१ का वडाध्यक्ष कार्मा तुन्डुक लामाले भने। उनले नै गाउँमा भएको लुटपाटबारे प्रहरीलाई जानकारी गराएका थिए ।
मुगुका प्रमुख जिल्ला अधिकारी टोपेन्द्र केसीले घटनाको पुष्टि गर्दै यथार्थ बुझ्न घटनास्थलबाट ५ घण्टा टाढा रहेको पुलु प्रहरी चौकीबाट टोली पठाइएको जानकारी दिए। यस्तै, जिल्ला प्रहरी नायब उपरीक्षक वीरेन्द्र थापाले घटनास्थल सञ्चारको पहुँचभन्दा टाढा भएकाले त्यहाँ गएका प्रहरीसँग सम्पर्क गर्न कठिन भएको उल्लेख गर्दै साँझसम्म थप विवरण बाहिर आउने बताए।
मुगुम कार्मारोङ गाउँपालिकाले यही जेठ १५ गतेदेखि यार्सागुम्बा संकलनका लागि अनुमति दिएसँगै त्यहाँका स्थानीय गाउँ छाडेर यार्सागुम्बा सङ्कलनका लागि हिमाली भेगतर्फ गएका थिए।
विगत वर्षहरूमा पनि जुम्लाका पातारासी, पटमारा लगायत बस्तीहरूबाट हतियारधारी समूह आएर मुगुका स्थानीयसँग झगडा गर्ने तथा यार्सा लुटेर लाने गरेको घटना भएका थिए।