-1716460454.jpg)
काठमाडौं— सहकारी ठगी प्रकरणमा संसदीय छानबिन समितिको कार्यादेश (टीओआर) तयार गर्नका लागि बसेको कार्यदलको आजको बैठक पनि निष्कर्षविहीन बनेको छ।
आज कानुन मन्त्रालयमा लामो छलफल चले पनि निष्कर्ष निस्कन नसकेपछि शनिबारका लागि पुनः बैठक बोलाइएको हो।
भोलिको बैठकमा जसरी पनि सहमति गर्ने गरी आफूहरु तयारीमा रहेको कार्यदलका सदस्य समेत रहेका एमाले प्रमुख सचेतक महेश बर्तौलाले न्यूजगृहलाई जानकारी दिए।
‘आजको बैठकमा सहमतिको केही आशाहरु देखिए पनि टुंगोमा पुग्न सकेनौँ। भोलि बस्ने बैठकमा हामी जसरी पनि सहमति खोज्छौँ र आइतबार बस्ने संसद् बैठक निर्वाध रुपमा अघि बढ्छ।’ बर्तौलाले न्यूजगृहसँग भने।
प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले बैठकमा नयाँ प्रस्ताव ल्याएको थियो। आजको बैठकमा सो प्रस्तावबारे गहन छलफल भएपछि सहमतिको सम्भावना बढेको थियो।
बैठकपछि सबै पक्ष आ–आफ्नो समूहगत छलफलमा जुटेका थिए। तर पनि निष्कर्ष निस्कन सकेन।
कांग्रेसले सहकारी ठगी प्रकरणमा उपप्रधान एवं गृहमन्त्री रवि लामिछानेको नाम तोकेर संसदीय छानबिन समितिको क्षेत्राधिकार तयार गर्नुपर्ने माग अघि सार्दै आइरहेको छ। तर एमाले, रास्वपाले भने समग्र सहकारीको विषयमा छानबिन गर्नुपर्ने गरी छानबिन समितिको कार्यादेश तयार गर्नुपर्ने अडान कायम राखेका कारण सहमति जुट्न नसकेको हो।
सहकारीकै विषयले संघीय संसद्का दुवै सदनको बैठक समेत निरन्तर अवरोध हुँदै आइरहेको छ। कांग्रेसले आजको दुवै सदनको बैठकमा अवरोध खडा गरेपछि आइतबारसम्मका लागि बैठक स्थगित हुन पुगेको छ।