-1716269012.jpg)
काठमाडौं— सहकारी ठगी प्रकरणमा संसदीय छानबिन समितिको कार्यादेश (टीओआर) टुंगो लगाउन बसेको कार्यदलको बैठक समाधानको बाटोतर्फ लागेको छ।
आज सिंहदरबारस्थित कानुन मन्त्रालयमा बसेको बैठक समाधानको बाटोतर्फ अघि बढेको कार्यदलका सदस्य एवं रास्वपाका सांसद शिशिर खनालले न्यूजगृहलाई जानकारी दिए।
उनका अनुसार यसअघि बिहीबार बसेको बैठकमा समाधान खोज्न कांग्रेसले नयाँ प्रस्ताव ल्याएको र सोही प्रस्तावका विषयमा छलफल भएको थियो।
अहिले उक्त प्रस्तावमा कार्यदलका सबै सदस्य सकारात्मक रहेको र अन्य नेताहरुसँग छलफलका लागि कार्यदलका सदस्यहरु निस्किएको बताए। साथै आफूसहित सबै कार्यदलका सदस्यहरु आ–आफ्नो समूहमा छलफलका लागि लागेको र त्यसपछि पुनः छलफल गर्ने बताए।
‘हामी समाधानको बाटोमा छौँ। मैले यसअघिको बैठकमा राखेको मध्यमार्गी प्रस्तावका विषयमा कांग्रेससहित हामी सबै सकारात्मक देखिएको छौँ। अहिले हामी समूहगत छलफलमा छौँ,’ खनालले न्यूजगृहसँग भने, ‘त्यसपछि पुनः बैठक बस्नेछ।’
गोप्य राखिएको उक्त मध्यमार्गी प्रस्तावले नै सहकारी ठगीको विषयमा छानबिनका लागि समिति बन्ने उनको विश्वास रहेको छ।
यसअघि सहकारी ठगी प्रकरणमा जोडिएका उपप्रधान एवं गृहमन्त्री रवि लामिछानेको नाम राख्ने वा नराख्ने भन्ने विषयमा सहमति जुट्न सकेको थिएन। अहिले लामिछानेको नाम राख्दै केही सर्तका साथ अघि बढ्ने सहमति भएको बुझिएको छ।
कानुनमन्त्र ी पदम गिरीको नेतृत्वमा बनेको कार्यदलमा एमालेका तर्फबाट प्रमुख सचेतक महेश बर्तौला, रास्वपाका तर्फबाट शिशिर खनाल, कांग्रेसका तर्फबाट जीवन परियार सदस्य रहेका छन्। आजको बैठकमा भने कांग्रेसका तर्फबाट पूर्व मन्त्री समेत रहेका सांसद ज्ञानेन्द्रबहादुर कार्की समेत सहभागि रहेका थिए।
बिहान ११ बजेका लागि बोलाइएको संसद् बैठक अझै बस्न सकेको छैन। संसद्मा जारी अवरोध हटाउने समाधान खोज्ने मुख्य निर्णायक मानिएको कार्यदलको बैठकको निर्णय नआएसम्मका लागि बैठक नबस्ने बताइएको छ।