-1715858240.jpg)
काठमाडौं— राष्ट्रियसभाको आजको बैठक कार्यसूचीमा प्रवेश नै नगरी स्थगित भएको छ।
आजको बैठकमा प्रमुख प्रतिपक्ष दल नेपाली कांग्रेसले उठेर विरोध जनाएपछि बैठक सञ्चालन हुन नसकेको हो।
राष्ट्रियसभाका अध्यक्ष नारायणप्रसाद दाहालले बैठक सञ्चालनका लागि सहजीकरण गर्न प्रतिपक्ष दलहरुलाई आग्रह गरेका थिए।
‘संसद्मा सरकारले प्रस्तुत गरेको आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रममाथि छलफल नै हुन पाएको छैन। जनताले चाहेको र खोजेको विषयमा हामीले काम नै गर्न पाएका छैनौँ। बजेट प्रस्तुत हुने दिन आइसक्यो। संसद्को गतिरोध अन्त्य गर्ने विषयमा राष्ट्रियसभा अझ बढी जिम्मेवार बन्नुपर्ने र सोच्नुपर्ने बेला आएको छ,’ अध्यक्ष दाहालले भने।
त्यसपछि पनि प्रतिपक्षको विरोध कायमै रहेपछि आजको बैठक स्थगित भएको उनले जानकारी दिए।
सभाको अर्को बैठक यही जेठ १३ गते आइतबार बिहान ११ः३० बजे बस्नेगरी स्थगित भएको छ।
त्यस्तै आज बसेको प्रतिनिधि सभा बैठकमा पनि प्रमुख प्रतिपक्षी दल कांग्रेसको अवरोध कायमै रहँदा प्रतिनिधि सभा बैठक पनि स्थगित भएको छ।
पूरानै अडानका साथ कार्यसूचीमा प्रवेश गर्नै नपाएपछि बैठक स्थगित भएको हो। अर्को बैठक आगामी आइतबार बिहान ११ बजे बस्नेछ।