काठमाडौं— भ्रष्टाचारको विभिन्न मुद्दा खेपिरहेका सुरक्षण मुद्रण केन्द्रका तत्कालीन कार्यकारी निर्देशक विकल पौडेलविरुद्ध फेरि अर्को मुद्दा दायर भएको छ।
अख्तियार दुरुपयोग अनुसन्धान आयोगले पदको दुरुपयोग गरी भ्रष्टाचार गरेको आरोपमा बुधबार विशेष अदालतमा मुद्दा दायर गरेको हो।
पौडेलको अस्वाभाविक जीवनशैलीका साथै आर्जनसमेत देखिएको भन्दै अख्तियारले मुद्दा दायर गरेको हो।
पौडेलमाथि ६२ करोड १९ लाख १८ हजार ६ सय ८४ रुपैयाँ गैरकानूनी सम्पत्ति आर्जन गरी सिंगापुर र अमेरिकामा समेत रकम लुकाएको दाबीसहित मुद्दा दायर गरिएको अख्तियारका प्रवक्ता नरहरि घिमिरेले जानकारी दिए।
सुरक्षण मुद्रण केन्द्रमा भ्रष्टाचार भएको भन्दै मंगलबार मात्रै विशेष अदालतका अध्यक्ष टेकनारायण कुँवर र सदस्य मुरारीबाबु श्रेष्ठको इजलासले उनलाई २ वर्ष कैद र २५ करोड ४७ लाख बिगो भराउने फैसला गरेको हो।
उनीविरुद्ध यसबाहेक पनि अन्य थप दुई मुद्दा विशेष अदालतमा विचाराधीन अवस्थामा रहेको छ।
पौडेलमाथि झुठा विवरण पेश गरी सरकारी पदमा पुगेकोसहित सुरक्षण मुद्रण केन्द्रमा अनावश्यक सामान खरिद गरेको आरोपमा दायर यसअघिको मुद्दा विचाराधीन अवस्थामा रहेको छ।