News Griha :: न्यूजगृह
‘एनटीसी क्लिन अप प्रिमियर लिग’ अभियान सुरु

काठमाडौं— स्वच्छ वातावरणका लागि युवाहरूलाई सक्रिय बनाउने उद्देश्यले ‘एनटीसी क्लिन अप प्रिमियर लिग’ अभियान आजदेखि सुरु गरिएको छ । 

विश्व पृथ्वी दिवसका अवसरमा मैनादेवी फाउन्डेसनले आयोजना गरेको सो अभियानअन्तर्गत आज भद्रकाली प्लाजास्थित नेपाल टेलिकमको प्राङ्गणदेखि भद्रकाली मन्दिरसम्म र्‍यालीसहित सफाइ गरिएको छ । 

र्‍यालीमा सहभागी विद्यार्थीले ‘प्रदूषण उन्मूलन गरौँ, वातावरण बाचौँ’, ‘सबै नागरिकलाई ज्ञान दिऊँ, सरसफाइ अभियानमा ध्यान दिऊँ’ र ‘स्वच्छ वातावरण, स्वच्छ जीवन’ लेखिएका प्ले कार्ड बोकेका थिए । 

अभियान विश्व वातावरण दिवस जेठ २२ गतेसम्म सञ्चालन हुनेछ । 'हामीले सरसफाइभन्दा पनि सफाइको एउटा अवधारणा ल्याएका छौँ, अहिलेका युवा जसरी खेलकुदमा आकर्षित छन्, त्यसरी नै सरसफाइमा आकर्षित गर्न, स्वच्छतामा प्रतिस्पर्धा गराउने उद्देश्यले पनि अभियान सञ्चालन गरिएको हो', फाउन्डेसनका अध्यक्ष केपी खनालले भने । 

अभियानअन्तर्गत प्रत्येक शुक्रबार र शनिबार बिहान ७ः३० बजे पशुपतिनाथ मन्दिर, स्वयम्भू मन्दिर, वसन्तपुर क्षेत्र र बौद्धलगायत विश्व सम्पदा सूचीमा परेका क्षेत्र, नयाँ बानेश्वर, कोटेश्वर, चाबहिल, कलङ्की र अन्य अति व्यस्त क्षेत्रमा १५ कलेजका विद्यार्थीले आ–आफ्नो पायक पर्ने क्षेत्रमा सरसफाइ गर्नेछन् । 

पन्ध्र कलेजमध्ये उत्कृष्ट सरसफाइ गर्ने तीन कलेजलाई पुरस्कारको व्यवस्थासमेत गरिएको छ । पुरस्कारको राशि प्रथम, द्वितीय र तृतीय गरी क्रमशः एक लाख, ५० हजार र २५ हजार रुपैयाँ रहेको छ । अभियानअन्तर्गत काठमाडौँ उपत्यकाभित्र मात्रै सफाइ गरिएपछि अभियानलाई देशैभरि सञ्चालन गरिने अध्यक्ष खनालले जानकारी दिए । फाउन्डेसनले यसअघि पनि सफाइ अभियान सञ्चालन गर्दै आएको थियो ।

प्रकाशित मिति: शनिबार, वैशाख ९, २०८०  १३:०८
Weather Update