News Griha :: न्यूजगृह
बाघको आक्रमणबाट बेपत्ता भएकी महिलाको शव भेटियो

कञ्चनपुर— बाघको आक्रमणमा परी बेपत्ता भएकी महिलाको शव भेटिएको छ । शुक्रबार बिहान बाघले आक्रमण गरेकै स्थानमा २२ घण्टापछि ती महिलाको शव भेटिएको हो । 

बाघले ती महिलाको शव दलदलमा लुकाएकाले निकाल्ने प्रयास भइरहेको सबडिभिजन वन कार्यालय कुण्डाका सहायक वन अधिकृत दिनेश यादवले बताए । उनले भने, 'महिलाको शव भेटिएको छ, बाघले दलदलमा लुकाएकोले निकाल्ने प्रयास भइरहेको छ । बाघले आक्रमण गरेकै ठाउँमा शव भेटियो ।'

शुक्रबार बिहान घर छेउकै खप्टी नालामा घाँस काटिरहेकी बेलौरी नगरपालिका ८ पँचुईकी ४२ वर्षीया गंगा चन्दलाई बाघले आक्रमण गरेर लगेको थियो ।

बाघले महिलालाई लगेदेखि राति अबेरसम्मै खोजी गरिए पनि महिला भेटिएकी थिइनन् । बाघ सोही क्षेत्रमा भएका कारण खोजी गर्नसमेत समस्या भएको थियो । उक्त बाघलाई डार्ट गरेर नियन्त्रणमा लिएपछि शनिबार बिहानैदेखि खोजी सुरु भएको हो । 

बर्दियाबाट आएको प्राविधिक टोलीले बाघलाई डार्ट गरेर नियन्त्रणमा लिएको हो । नियन्त्रणमा लिइएको बाघलाई शुक्लाफाँटा राष्ट्रिय निकुञ्जको कोर एरियामा छाडिने यादवले बताए ।

प्रकाशित मिति: शनिबार, वैशाख ९, २०८०  १२:१८
Weather Update