
काठमाडौं— भक्तपुरको जगातीबाट शुक्रबार गरिएको चेकिङका क्रममा लागूऔषध सेवन गरी सवारी साधन चलाउँदै गरेका ३ जना चालकलाई प्रहरीले पक्राउ गरेको छ ।
काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालय, नेपाल प्रहरी अस्पताल, लागूऔषध नियन्त्रण ब्युरो र प्रहरी प्रहरी वृत्त जगातीको संयुक्त टोलीले शुक्रबार बेलुकी २० ओटा सवारी साधनका चालकलाई चेक गर्दा ३ जनाले लागूपदार्थ सेवन गरेको पाइएको थियो ।
बा २ क ६३४५ नम्बरको ट्रिपरका चालक स्याङ्जाको गल्याङ नगरपालिका ९ का २९ वर्षीय कुसुम थापा, बा २ क ६३ ४४ नम्बरको ट्रिपरका चालक सिन्धुपाल्चोकको बलेफी गाउँपालिका ३ भुस्कोटका २८ वर्षीय तारा बहादुर तामाङ र ना २८ प ६३३३ नम्बरको मोटरसाइकलका चालक काठमाडौँको तार्केश्वर नगरपालिका ५ गोलढुंगा बस्ने ३० वर्षीय रोहित तामाङलाई प्रहरीले नियन्त्रणमा लिएको हो ।
उनीहरूलाई प्रहरी वृत्त जगातीको थुनामा राखेर लागूऔषध सेवनको मुद्दा चलाइने काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयका प्रवक्ता एवम् एसएसपी राजेन्द्रप्रसाद भट्टले बताए ।