News Griha :: न्यूजगृह
जङ्गली हात्तीले कुल्चेर झापामा एक वृद्धको मृत्यु

झापा— जङ्गली हात्तीको आक्रमणमा परी बुद्ध शान्ति गाउँपालिका–५ खारखोला झापाका एक वृद्धको मृत्यु भएको छ । 

डिभिजन वन कार्यालय झापाका प्रमुख मेघराज राईका अनुसार आज बिहान ७० वर्षीय भीमबहादुर भट्टराईलाई हात्तीले कुल्चेर मारेको हो । बारीमा पाक्न लागेको मकैबाली खान आएको हात्तीलाई लखेट्ने क्रममा भट्टराईलाई हात्तीले आक्रमण गरेको प्रमुख राईले जानकारी दिए । 

डिभिजन वन कार्यालय र प्रहरीको टोली घटनास्थलतर्फ पठाइएको जानकारी दिँदै उनले थप विवरण आउन बाँकी रहेको बताए । 

जिल्लाको पूर्वी क्षेत्र बाहुनडाँगी हुँदै भारतबाट समेत जङ्गली हात्तीको हुल नेपाल प्रवेश गर्दै आएको छ भने एक दर्जनको सङ्ख्यामा रैथाने हात्ती स्थानीय जङ्गलमा बस्दै आएका छन् । हुलबाट एक्लिएको जङ्गली हात्तीले मान्छेमाथि आक्रमण गर्दै आएको स्थानीयवासी बताउँछन् ।

प्रकाशित मिति: शनिबार, वैशाख ९, २०८०  ११:०८
Weather Update