
काठमाडौं— अरनिको राजमार्गअन्तर्गतको धुलिखेल–खावा सडक खण्ड विस्तारको जिम्मा लिएको गौरी–पार्वती निर्माण सेवा प्रालिविरुद्ध जिल्ला प्रशासन कार्यालय काभ्रेपलान्चोकमा किटानी जाहेरी दर्ता गरिएको छ ।
पाँचखाल नगरपालिका प्रमुख महेश खरेलले ठेकेदारको लापरबाहीले सडक यात्रुको स्वास्थ्यमा खेलबाड भएको तथा यात्राका क्रममा दुर्घटना भई कयौँको अङ्गभङ्ग भएको जनाउँदै ठेकेदारविरुद्ध क्षतिपूर्ति मागसहित शुक्रबार कार्यालयमा उजुरी दिएका हुन् ।
उजुरीमा निर्माण सेवा तथा त्यसका सञ्चालक रामकुमार थापाले निर्माणमा ढिलाइ गरेको लापरबाहीकै कारण धुलिखेल–खावा सडक खण्डमा यात्रु जोखिम मोलेर हिँड्न बाध्य भएको, सडकमा उडेको धुवाँले यात्रु बिमारी परेको तथा खाल्डाखुल्डीका कारण सवारीसाधन दुर्घटनामा परेपछि उजुरी दर्ता गरिएको नगर प्रमुख खरेलले बताए ।
सडक डिभिजन कार्यालय भक्तपुर र निर्माण कम्पनीबीच २२ महिनामा सडक विस्तार एवं स्तरोन्नतिको काम सक्ने गरी २०७९ जेठ २० गते सम्झौता गरिएको थियो । चार किलोमिटर सडक खण्ड विस्तार एवं निर्माण सुरु भएको दश महिना बितिसक्दा दश प्रतिशत मात्रै काम गरी रोकेपछि सडक डिभिजन कार्यालय र जिल्ला प्रशासन कार्यालय तथा जिल्लास्थित जनप्रतिनिधिले कामलाई निरन्तरता दिन गत चैत २९ गतेदेखि सात दिनको म्याद दिइएका थिए ।
निर्माण अलपत्र अवस्थामा रोक्दा उक्त सडक खण्डमा यात्रुले निकै सास्ती खेप्दै आएका हुन् । सडक डिभिजन कार्यालय भक्तपुरका प्रमुख मेघराज मरासैनीले सडक निर्माण सुरु भएको करिब ५० प्रतिशत समय बितिसक्दा दश प्रतिशत मात्रै काम भएको बताए ।
निर्माण व्यवसायीले सन्तोषजनक काम नगरेपछि शुक्रबार जिल्लामा बसेको सरोकारवालाको भेलाले ठेक्का रद्द गर्ने मागसहित सिफारिस गरेको छ । जिल्ला समन्वय समिति काभ्रेका प्रमुख दीपककुमार गौतमको अध्यक्षतामा बसेको बैठकले धुलिखेल–खावा सडक खण्डको ठेक्का रद्द गर्न माग गरेको हो ।
ठेकेदारले सन्तोषजनक काम नगरेपछि सम्बन्धित सरोकारवाला निकाय सडक डिभिजन कार्यालय भक्तपुरलाई उक्त सडक खण्डको ठेक्का रद्द गर्न माग गर्दै आवश्यक विषयमा सहयोग गर्ने र रद्दका लागि सिफारिससमेत गरेको हो ।
प्रमुख जिल्ला अधिकारी पुण्यविक्रम पौडेलले ठेकेदारलाई एक हप्ताको अल्टिमेटम दिँदासमेत बेवास्ता गरेकाले कानुनबमोजिम कारबाहीको प्रक्रियासहित ठेक्का रद्दको माग गरिएको बताए । मरासिनीका अनुसार सात दिनभित्र चित्तबुझ्दो गरी तीव्र गतिमा कामलाई निरन्तरता नदिएका कारण कानुनबमोजिम ठेक्का सम्झौता रद्द गर्नेदेखि कालोसूचीमा राख्ने सम्मको कारबाही गरिने छ ।
डिभिजन कार्यालयले छ महिनाको अवधिमा निर्माण व्यवसायीलाई नौ पटक पत्राचार गरेकोमा निर्माण ढिलाइका विषयमा कुनै जानकारी नदिएपछि विभाग ठेक्का रद्द गर्ने प्रक्रियासमेत पुगेको बताइएको छ । सम्झौताअनुसार आगामी २०८० चैत १९ सम्म काम पूरा गर्नुपर्नेछ ।
उक्त सडक खण्डका विस्तार एवं स्तरोन्नतिका लागि व्यवसायीसँग रु २० करोड १९ लाखमा सम्झौता गरिएको थियो । सडकमा गुड्ने मालवाहक सवारीको भारवहन क्षमतालाई मध्यनजर गर्दै बलियो बनाउन कार्यालयले नेपालमा नै पहिलो पटक ग्राभेलमाथि २० सेन्टिमिटर बाक्लो सिमेन्ट मिसाइएको बेस हाल्ने तथा दुई चरणको कालोपत्रे डिबिएम र आस्फाल कालोपत्रे गर्ने कार्यालयले जनायो ।
साँघुरो सडकका कारण बर्सेनि ट्राफिक जाम बढ्दै गएपछि उक्त सडक खण्ड विस्तार गर्न लागिएको थियो । निर्माण व्यवसायीले सडक विस्तार गर्नका लागि केही रुख काट्नुपर्ने र सडकमा पर्ने विद्युत्का पोल स्थानान्तरण गर्नुपर्ने कारण देखाउँदै निर्माणको काम दुई महिनादेखि रोकेका छन् ।
केही वर्षदेखि जीर्ण बन्दै आएको धुलिखेल–खावा सडक खण्डलाई १२ मिटरको फराकिलो बनाई कालोपत्रे गर्न लागिएको थियो ।
उक्त सडक हुँदै उत्तरी नाका तातोपानी पुग्ने गरिन्छ । यही सडक काभ्रेपलान्चोकबाट सिन्धुपाल्चोक, रामेछाप, दोलखालगायतका विभिन्न ठाउँबाट आवतजावतका लागि प्रयोग हुन्छ ।













