News Griha :: न्यूजगृह
ट्राफिक प्रहरी जवानको हत्या आरोपमा ६ जना पक्राउ

काठमाडौं— ट्राफिक प्रहरी प्रभाग, दरबारमार्गमा कार्यरत प्रहरी जवान युवराज घिमिरेको हत्या भएको आशङ्कामा प्रहरीले छ जनालाई पक्राउ गरेको छ। प्रारम्भिक अनुसन्धानबाट उनको हत्या भएको देखिएकोले शंकास्पद ६ जनालाई नियन्त्रणमा लिइएको प्रहरीले जनाएको छ।

घिमिरेको शव रक्ताम्मे अवस्थामा मनमैजुमा एक निर्माणाधीन घरको भुइँमा शुक्रबार अपरान्ह फेला परेको थियो। पक्राउ पर्नेमा सचिन परियारसहित ६ जना छन्। 

‘त्यो लागूऔषध सेवनकर्ताहरुको अखडा जस्तो ठाउँ रहेछ, त्यहीँ घिमिरे पनि गएका रहेछन्,’ अनुसन्धानमा संलग्न एक अधिकृतले भने, ‘उनी मोटरसाइकलमा त्यहाँसम्म गएको देखिन्छ, त्यसपछि परियारसहितको समूहले उनको हत्या गरेको देखिएको छ।’

जिल्ला प्रहरी परिसर, काठमाडौंले शनिबार रातिसम्ममा २१ जना लागूऔषध प्रयोगकर्तालाई नियन्त्रणमा लिएको थियो। ‘तर, बयान र सोधपुछपछि ६ जनाको संलग्नता खुलेको छ,’ ती अधिकृतले भने, ‘थपको संलग्नता पुष्टि नभए छाडिनेछ।’

प्रहरीले यसबारे आइतबार पत्रकार सम्मेलन गरेर जानकारी दिने बताएको छ। स्रोतका अनुसार, प्रहरी जवान घिमिरे पहिले बसपार्क क्षेत्रमा कार्यरत रहँदा पक्राउ परेका परियारसँग चिनजान थियो। घिमिरेलेसमेत लागुऔषध गाँजा सेवन गर्ने गरेको पक्राउ परेकाले दाबी गरेका छन्।
बिहीबार ड्युटी सकेर निस्किएका उनी त्यसपछि कार्यालयमा फर्किएका थिएनन्।  खोटाङ घर भएका घिमिरे सामाखुसी बस्दै आएका थिए ।

प्रकाशित मिति: आइतबार, जेठ ६, २०८१  ०८:५६
Weather Update