काठमाडौं— झण्डै एक सातादेखि सगरमाथा चुचुरो नजिकबाट हराइरहेका दुई मंगोलियन अल्पाइनिस्टमध्ये एक जनाको शव शुक्रबार फेला परेको छ।
खोज तथा उद्धारमा संलग्न काठमाडौंस्थित एटके एक्सपिडसनका निर्देशक लाक्पा थेन्डू शेर्पाका अनुसार आइतबार साँझ सगरमाथा चुचुरो नजिकै ७ हजार ९ सय ५० मिटर उचाईमा रहेको चौंथो शिविरभन्दा माथिबाट हराएका थिए।
उनीहरुमध्ये एक जनालाई मृत अवस्थामा खोज तथा उद्धारमा संलग्न शेर्पा टोलीले शुक्रबार बिहान भेटाएको हो। उद्धार टोलीका अनुसार ५३ वर्षीय युखजर्गल सिडेनडम्बाको शव फेला परेको हो।
एटके एक्सपिडसनका निर्देशक शेर्पाले भने,‘अर्का ३१ वर्षीय प्योरभ्रिसन खाम्बाजाभको शव अझै भेटीएको छैन ।’
निर्देशक शेर्पाका अनुसार उद्धार टोलीले सगरमाथा चुचुरोभन्दा २ सय ४८ मिटर मुनि ५३ वर्षीय सिडेनडम्बाको शव हराएको ६ दिनपछि शुक्रबार बिहान देखेको हो।
उनको शवलाई त्यही राखेर उद्धार टोली आधार शिविर फर्किनेक्रममा रहेको छ।
अहिले आरोहणको सिजन भएकाले हिमाल चढ्न जाने आरोहीहरुलाई बाधा पुग्ने भएकाले मृत अवस्थामा भेटिएका मंगोलियन आरोहीको शव भने आधार शिविरमा झार्न कठिनाई हुने निर्देशक शेर्पाले बताए।
उनका अनुसार योपटकको आरोहण सिजन सकिएपछि उनीसहित अर्का मंगोलिनको पनि खोजी गरेर शव व्यवस्थापन गरिने छ ।