News Griha :: न्यूजगृह
अन्ततः आइतबारसम्मका लागि सर्‍यो संसद् बैठक 

काठमाडौं— संसद् बैठक आगामी जेठ ६ गते आइतबारसम्मका लागि सारिएको छ।

आज बिहानका लागि बैठक आह्वान गरिएको थियो। तर संसद्मा जारी अवरोध हट्ने संकेत नभएपछि दिउँसो २ बजेसम्मका लागि बैठक सारिएको थियो।

संसद्मा प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले उपप्रधान एवं गृहमन्त्री रवि लामिछाने सहकारी ठगी प्रकरणमा मुछिएको भन्दै संसदीय छानबिन समिति बनाउनुपर्ने माग अघि सारेर अवरोध गर्दै आइरहेको छ।

आज चरणबद्ध रुपमा छलफलहरु भए पनि सहमति जुट्न नसकेपछि बैठक सारिएको हो। 

प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड र विपक्षी दलका नेताहरूसँग संवादपछि सभामुखले बैठक स्थगित गरिएको सभामुखको सचिवालयले जनाएको छ। सभामुखले आगामी बैठक सौहार्दपूर्ण वातावरणमा सञ्चालन हुने विश्वास व्यक्त गरेका छन्। 

आज प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले प्रमुख प्रतिपक्षी दलका नेताहरुसँग छलफल गर्ने भएका छन्। साँझ ६ बजे कांग्रेसका शीर्ष नेताहरुलाई बालुवाटार बोलाइएको हो। 

यता राष्ट्रिय सभा बैठक पनि आइतबारसम्मका लागि सारिएको छ। दिउँसो बैठक बसे पनि कांग्रेसकै अवरोधका कारण बैठक सारिएको हो। 

प्रतिनिधि सभा बैठक आइतबार बिहान ११ बजे बस्नेछ।

प्रकाशित मिति: शुक्रबार, जेठ ४, २०८१  १५:१४
Weather Update