News Griha :: न्यूजगृह
निरन्तर संसद् अवरोध भएपछि कांग्रेस नेताहरुलाई प्रधानमन्त्रीले बोलाए बालुवाटार
फाइल तस्बिर

काठमाडौं— प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेससँग प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले छलफल भर्ने भएका छन्। 

निरन्तर सहकारी प्रकरणका विषयमा छानबिन समितिको माग राखेर निरन्तर संसद् अवरोध गरेपछि प्रधानमन्त्रीले कांग्रेसका शीर्ष नेताहरुसँग छलफल गर्न लागेका हुन्। 

छलफलका लागि साँझ बालुवाटार बोलाइएको कांग्रेसका उपसभापति समेत रहेका सांसद धनराज गुरुङले न्यूजगृहलाई जानकारी दिए। 

‘प्रधानमन्त्रीज्यूले छलफलका लागि ६ बजे बालुवाटार बोलाउनुभएको छ,’ उनले भने। 

उपप्रधानमन्त्री एवं गृहमन्त्री रवि लामिछाने सहकारी ठगी प्रकरणमा मुछिएको भन्दै संसदीय छानबिन समिति मागिरहेको कांग्रेसले सोही विषयलाई लिएर निरन्तर संसद्मा अवरोध गरिरहेको छ। 

त्यसो त बिहीबार बसेको संसद् बैठकमा कांग्रेस र एमाले सांसदहरुबीच धकेलाधकेलको स्थिती सिर्जना भएपछि प्रधानमन्त्रीले पहल थालेका हुन्। 

आज प्रमुख प्रतिपक्षी कांग्रेससहित अन्य विपक्षी दलको बैठकले संसदीय छानबिन समिति बनाउने कांग्रेसको मागमा ऐक्यबद्धता जनाएको छ। त्यस्तै सभामुखले संसद्मा निष्पक्षता नदेखाएको भन्दै विपक्षी दलहरुले ध्यानाकर्षण समेत गराएका छन्।

बिहान ११ बजे बोलाइएको बैठक दिउँसो २ बजेसम्मका लागि सारिए पनि अझैसम्म बैठक बस्न सकेको छैन। उता राष्ट्रिय सभा बैठक भने कांग्रेसको अवरोधका कारण आइतबारसम्मका लागि स्थगित गरिएको छ।  

प्रकाशित मिति: शुक्रबार, जेठ ४, २०८१  १४:१४
Weather Update