काठमाडौं— अवैध लागुऔषध कोकिनसहित २ युगाण्डाका महिलासहित प्रहरीले ३ जनालाई पक्राउ गरेको छ। गत वैशाख ३० गते विमानस्थलबाट लागुऔषध नियन्त्रण ब्युरोको टोलीले २ केजी ६५४ ग्राम कोकिनसहित कतार एयरवेजबाट काठमाडौं आएका २ युगाण्डाका महिला रहेका थिए।
ब्युरोले आज पत्रकार सम्मेलन गरी सार्वजनिक गरेको हो।
ब्युरोका एसएसपी गोविन्द थपलियाका अनुसार वैशाख ३० गते ब्युरोको टोलीले युगाण्डाबाट आएकी एक महिलालाई शंकास्पद रुपमा सिनामंगलबाट पक्राउ गरिएको थियो। उनलाई ब्युरोमा ल्याएर सोधपुछ गर्दा उनको गतिविधि शंकास्पद भएपछि नेपाल प्रहरी अस्पतालमा राखिएको थियो। सो क्रममा उनको शरिरमा कोकिनका क्याप्सुल भेटिएको थियो।
सो क्रममा प्लास्टिकमा बेरिएको अवस्थामा ५१ वटा क्याप्सुल निकालिएको थियो। त्यसको कुल तौल १ किलो २६० ग्राम रहेको थियो।
सोही फ्लाइटमा गुगाण्डाकै लिलियन सुचान भन्ने महिला समेत आएकी थिइन्। शंकास्पद उनलाई उनी बसेको होटलमा पुगेर ब्युरोको टोलीले अनुसन्धानको दायरामा ल्याएको थियो।
अनुसन्धानको क्रममा उनको झोलामा विभिन्न चलकेटको प्याकेटमा बेरिएको अवस्थामा कोकिन लुकाएकी थिइन्। उनको साथबाट एक केजी ३ सय ९४ ग्राम कोकिन बरामद गरिएको थियो।
उक्त सामान लिनका लागि भारतबाट देवागली पाल भन्ने व्यक्ति आएका थिए। उनलाई मंगलबार पक्राउ गरी अनुसन्धान भइरहेको एसएसपी थपलियाले पत्रकार सम्मेलनमा बताए।
उनका अनुसार इथियोपियाबाट कतार हुँदै नेपाल आइपुगेको उक्त कोकिन भारत लैजाने तयारी गरिएकोमा प्रहरीले बरामद गरेको हो। साथै संलग्न अन्य व्यक्तिहरुलाई समेत अनुसन्धानको दायरामा ल्याउने तयारी भइरहेको उनले बताए।