News Griha :: न्यूजगृह
आज इस्लाम धर्मावलम्वीको इदुलफित्र

काठमाडौं— आज इस्लाम धर्मावलम्वीको महान् पर्व इदुलफित्र मनाइदैछ । यो पर्वमा मुस्लिम समुदायले एक महिना लामो व्रत बस्ने गरेका छन् । जसलाई रोजा भनिन्छ । एक महिनासम्म चल्ने रमजान पर्वमा मुस्लिम समुदाय दिनमा निराहार बस्ने गर्दछन् ।

बिहानको ३ः२० बजे सेहरी हलुका खानेकुरा खाएर दिनभर निराहर बस्ने मुस्लिम व्रतालु सूर्यास्त भएपछि एफतार मिठो खानेकुरा खाएर रोजा खोल्ने चलन रहेको छ ।

रमजान उर्दू क्यालेण्डरअनुसार हिजरी सम्बत् १४४४ हो भने रमजान महिना नवौँ महिना हो । रमजान महिनामा नै मुस्लिम समुदायको सबैभन्दा ठूलो ग्रन्थ कुरान अवतरण भएको हो भने यो महिनामा अल्लाहको कृतज्ञता प्राप्त हुने विश्वास छ ।

दान दिनु, गरिब र दीन दुःखीलाई सेवा गर्नु, जकात निकाल्नु यो महिनाको ठूलो विशेषता हो । रमजानामा व्रत बस्ने शुक्रबार साँझ पश्चिम दिशामा आकाश हेरेर चन्द्रमा हेर्ने र चन्द्रमा नजर आएमा अत्यधिक खुसी हुँदै एकआपसमा इदमुबारक बधाई सटासाट गर्ने प्रचलन रहँदै आएको छ ।

रमजान महिना मुस्लिमका लागि निकै महत्त्वपूर्ण एवम् पवित्र हो र यसमा मुस्लिमका पाँच आधार स्तम्भमा हज बाहेक सबै स्तम्भ पूरा हुने गर्दछ ।

इदुलफित्र मनाउनका लागि शनिबार मुस्लिम समुदाय इदगाह वा मस्जिदमा भेला भएर सामूहिक रूपमा नमाज पढ्ने गर्दछन् ।

प्रकाशित मिति: शनिबार, वैशाख ९, २०८०  ०६:०४
Weather Update