
काठमाडौं— ईस्लाम धर्मावलम्वीको महान् पर्व इदुलफित्र शनिबार हुने भएको छ । यो पर्वका लागि मुसलमानले एक महिना व्रत बसेका थिए । जसलाई रोजा भनिन्छ । एक महिनासम्म चल्ने रमजान पर्वमा मुसलमान दिनमा निराहार बस्छन् ।
बिहानको ३ः२० बजे सेहरी हलुका खानेकुरा खाएर दिनभर निराहर बस्ने मुसलमान व्रतालु सूर्यास्त भएपछि एफतार मिठो खानेकुरा खाएर रोजा खोल्ने चलन रहेको छ ।
रमजान उर्दू क्यालेण्डरअनुसार हिजरी सम्बत् १४४४ हो भने रमजान महिना नवौँ महिना हो । रमजान महिनामा नै मुसलमानको सबैभन्दा ठूलो ग्रन्थ कुरान अवतरण भएको हो भने यो महिनामा अल्लाहको कृतज्ञता प्राप्त हुने विश्वास लिएको छ ।
दान दिनु, गरिब र दीन दुःखीलाई सेवा गर्नु, जकात निकाल्नु यो महिनाको ठूलो विशेषता हो । रमजानामा व्रत बस्ने शुक्रबार साँझ पश्चिम दिशामा आकाश हेरेर चन्द्रमा हेर्ने र चन्द्रमा नजर आएमा अत्यधिक खुसी हुँदै एकआपसमा इदमुबारक बधाई सटासाट गर्ने प्रचलन रहँदै आएको छ ।
रमजान महिना मुसलमानका लागि निकै महत्त्वपूर्ण एवम् पवित्र हो र यसमा मुसलमानका पाँच आधार स्तम्भमा हज बाहेक सबै स्तम्भ पूरा हुने गर्दछ ।
इदुलफित्र मनाउनका लागि शनिबार मुसलमान इदगाह वा मस्जिदमा भेला भएर सामुहिक रूपमा नमाज पढ्ने गर्दछन् ।













