काठमाडौं— प्रहरीले ठूलो परिमाणमा अवैध लागुऔषध गाँजासहित ४ जनालाई पक्राउ गरेको छ।
प्रहरीले सुनसरी, देवानगंज गाउँपालिका–५ मेहता टोलबाट अवैध लागूऔषध गाँजा ४ सय ४० किलोग्राम, १ लाख ५० हजार भारतीय रूपयाँ र ५२ हजार नेपाली रूपैयाँसहित ३ जनालाई मंगलबार राति प्रहरीले पक्राउ गरेको छ।
पक्राउ पर्नेहरूमा मकवानपुर भिमफेदी नगरपालिका–१४ बस्ने २५ वर्षीय चन्द्र बहादुर पाख्रिन, मोरङ लेटाङ नगरपालिका–६ बस्ने बल बहादुर लिम्बु र सुनसरी देवानगंज गाउँपालिका–४ बस्ने ३० वर्षीय अरबिन्द पाल रहेका छन्।
इलाका प्रहरी कार्यालय साहेबगंजबाट खटिएको प्रहरीले राजगंज सिनबारीबाट साहेबगंजतर्फ जाँदै गरेको को.१ ख ७१२३ नम्बरको मिनि ट्रकलाई जाँच गर्ने क्रममा १३ वटा बोरामा रहेको उक्त परिमाणको गाँजा फेला पारी ट्रक चालक चन्द्र बहादुर तथा ट्रकमा सवार बल बहादुर र अरबिन्दलाई पक्राउ गरेको हो।
त्यसैगरी प्रहरीले मोरङबाट पनि लागुऔषध गाँजासहित एक जनालाई पक्राउ गरेको छ।
प्रहरीले मोरङको विराटनगर महानगरपालिका–१७ आइसिपी रोडबाट अवैध लागुऔषध गाँजा २ सय ५० किलोग्रामसहित धनकुटा सहिदभुमी गाउँपालिका–३ बस्ने १८ वर्षीय किशोरलाई मंगलबार राति पक्राउ गरेको हो।
उक्त स्थानमा प्रदेश १–०२–०२ च. ६३३१ नम्बरको पिकअप भ्यानमा गाँजा अनलोड गर्दै गरेको भन्ने सूचनाको आधारमा जिल्ला प्रहरी कार्यालय मोरङ र इलाका प्रहरी कार्यालय रानीबाट खटिएको प्रहरीले पिकअपका चालक ती किशोरलाई उक्त गाँजासहित पक्राउ गरेको हो।
उनीहरुलाई पक्राउ गरी आवश्यक अनुसन्धान गरिरहेको प्रहरीले जनाएको छ।