काठमाडौं— नेपालबाट मजदुरीका लागि भारतको कश्मीर पुर्याएर बन्धक बनाइएका ३५ नेपालीको उद्धार गरिएको छ।
सर्लाही, महोत्तरी, धनुषाका नेपाली मजदुरहरूलाई दैनिक ११ सय (नेपाली रुपैयाँ) ज्याला पाउने गरी ठेकेदारले जम्मु पुर्याएका थिए। तर, उनीहरूलाई कश्मीरको श्रीनगर बडगांग पुर्याइयो।
त्यहाँ भारतीय ठेकेदारले नेपाली मजदुरहरूलाई श्रमशोषण र यातना दिएर काममा लगाइरहेका थिए। पीडित मजदुरहरूका अनुसार उनीहरूलाई पुग्ने गरी खाना पनि दिइएको थिएन। कुटपिट र अमानवीय व्यवहार दिनचर्या बनेको थियो।
तीन महिनादेखि पारिश्रमिक नदिएको, थुनेर राख्ने, कडा निगरानीमा काममा लगाउनेजस्ता व्यवहार गरिँदै थियो। सबैको मोबाइलसमेत खोसिएको धनुषाका पीडित मजदुर रञ्जित चौधरीले बताए।
कश्मीरबाट मजदुरहरूको उद्धार गरी दिल्ली ल्याइएको किन इन्डियाका प्रमुख नवीन जोशीले बताए। उद्धार गरिएकामा सबैभन्दा बढी महोत्तरी जिल्लाका २३ जना छन्। ६ जना नाबालिग छन्।