
काठमाडौं— सरकारबाट बाहिरिएको उपेन्द्र यादव नेतृत्वको जनता समाजवादी पार्टी (जसपा) नेपालले सरकारलाई दिएको समर्थन समेत फिर्ता लिएको छ।
उपप्रधान एवं स्वास्थ्य तथा जनसंख्यामन्त्री रहेको जसपा नेपालका अध्यक्ष उपेन्द्र यादवले आज पदबाट राजीनामा दिँदै सरकार छाडेका हुन्।
यादवले सभामुखलाई पत्र पठाउँदै पुष्पकमल दाहाल प्रचण्ड नेतृत्वको सरकारलाई दिएको समर्थन फिर्ता लिएको जानकारी गराएका हुन्।
त्यस्तै आफू समर्थन फिर्ता लिँदै संसद्को प्रतिपक्षमा बस्ने समेत जानकारी गराएका छन्।
‘उपरोक्त सम्बन्धमा सम्माननीय पुष्पकमल दाहाल प्रचण्ड को नेतृत्वमा नेपालको सविधानको धारा ७६ (२) बमोजिम गठन भएको सरकारलाई जनता समाजवादी पार्टी, नेपालको समर्थन गरी सरकारमा समेत सहभागी रहेकोमा अब उपरान्त सरकारलाई दिइएको समर्थन फिर्ता लिई सरकारबाट समेत बाहिरिएकाले संसद्मा प्रतिपक्षमा नै बसी आफ्नो रचनात्मक भूमिका निर्वाह गर्ने बेहोरा जानकारीका लागि अनुरोध छ,’ पत्रमा भनिएको छ।
अशोक राईको नेतृत्वमा जसपा नेपाल फुटेसँगै राजनीतिमा नयाँ घटनाक्रम विकास भएको हो। आइतबार मात्रै माओवादी र एमालेले साथ छाडेपछि जसपा नेपाल नेतृत्वको मधेस प्रदेश सरकार समेत अल्पमतमा परेको छ।
उपेन्द्रले राजीनामा दिएसँगै जसपा नेपालबाट फुटेर अशोक राईको नेतृत्वमा बनेको जसपा सरकारमा जाने तयारी गरेको छ।