
काठमाडौं— जनता समाजवादी पार्टी (जसपा) नेपालबाट फुटेर बनेको जनता समाजवादी पार्टी (जसपा) सरकारमा सामेल हुने भएको छ।
अशोक राईले नेतृत्व गरिरहेको जसपाले आजै सरकारमा सामेल हुन लागेको हो। वर्तमान सरकारको उपप्रधान एवं स्वास्थ्य तथा जनसंख्यामन्त्री रहेका जसपा नेपालका अध्यक्ष उपेन्द्र यादवले आज पदबाट राजीनामा दिँदै सरकारलाई दिएको समर्थन समेत फिर्ता लिएका छन्। त्यससँगै जसपा नेपालबाट फुटेर बनेको जसपा सरकारमा सामेल हुन लागेको हो।
आफूहरु सरकारमा सामेल हुन लागेको जसपाका अध्यक्ष अशोक राईले न्यूजगृहलाई जानकारी दिए। उपेन्द्रले राजीनामा दिएको र त्यो स्वीकृत हुने बित्तिकै सरकारमा सामेल हुने उनले बताए।
‘उपेन्द्रजीले राजीनामा दिनुभएको भन्ने कुरा सुनियो, उहाँको राजीनामा स्वीकृत भएपछि हामी सरकारमा सामेल हुन्छौँ,’ उनले न्यूजगृहसँग भने।
त्यस्तै एक जनाको सिट खाली रहेका कारण अहिले एक जनालाई सरकारमा पठाउने तयारी गरिएको बताए। पार्टीका सांसद प्रदीप यादवलाई सरकारमा पठाउने तयारी गरिएको उनले बताए।
‘स्वास्थ्य तथा जनसंख्या मन्त्रालय खाली भएको छ, हामी एक जनालाई सो मन्त्रालयको जिम्मेवारी लिने गरी पठाउँछौँ,’ उनले थपे, ‘हाम्रो पार्टीको निर्णय अनुसार हामी हाम्रा माननीय प्रदीपजीलाई सरकारमा पठाउँदैछौँ’
राईले गत आइतबार जसपा नेपालबाट ७ सांसद र बहुमत केन्द्रीय सदस्यसहित पार्टी फुटाएका थिए।