काठमाडौं— सुरक्षण मुद्रण केन्द्रका निलम्बित कार्यकारी निर्देशक विकल पौडेलविरुद्ध भ्रष्टाचारको अर्को मुद्दा दायर भएको छ।
पौडेलविरुद्ध भ्रष्टाचारको आरोपमा यसअघि नै दुईवटा मुद्दा रहेको छ।
आइतबार अख्तियार दुरुपयोग अनुसन्धान आयोगले सुरक्षण मुद्रण केन्द्रको उपकरण खरिदमा ४० करोड ८५ लाख ७४ हजार ७ सय ४० रुपैयाँ भ्रष्टाचार गरेको आरोपमा विशेष अदालतमा मुद्दा दायर गरेको हो।
आयोगले पौडेलसहित राष्ट्रिय सूचना प्रविधि केन्द्रका तत्कालीन निर्देशक सफल श्रेष्ठ, वन तथा वातावरण मन्त्रालयका मेकानिकल सीडीई नविन कुमार पोखरेल विरुद्ध पनि भ्रष्टाचार मुद्दा दायर गरेको हो।
त्यसको साथै सुरक्षण मुद्रण केन्द्रका तत्कालीन लेखा अधिकृत खड्क बहादुर थापा र शाखा अधिकृत हरिवल्लभ घिमिरेसहित सुरक्षण मुद्रण केन्द्रको उपकरण खरिद गर्ने ठेक्का पाएको म्याक्स इन्टरनेशनल र त्यसका सञ्चालक अकबर हुसेन विरुद्ध पनि अख्तियारले मुद्दा दायर गरेको जनाएको छ।
यसअघि नै सुरक्षण मुद्रण केन्द्रको भवन तथा अन्य संरचना निर्माणमा अनियमिता गरेको भन्दै अख्तियारले दायर गरेको मुद्दा विशेष अदालतमा विचाराधीन रहेको छ।
यसअघि गत बैशाख ९ गते पौडेलविरुद्ध अख्तियारले अमेरिकाको स्थायी आवासीय अनुमतिपत्र (पीआर) लिएर सुरक्षण मुद्रण केन्द्रको कार्यकारी निर्देशक पद लिएको आरोपमा मुद्दा दायर गरेको थियो।
भ्रष्टाचारको आरोपमा हिरासतमा रहेका पौडेललाई आज मात्रै विशेष अदालतबाट १० दिनको म्याद थप भएको छ।