काठमाडौं— राष्ट्रपति रामचन्द्र पौडेलका आर्थिक विज्ञ डा. चिरञ्जिवी नेपालको राजीनामा स्वीकृत भएको छ।
हालै १०० रुपैयाँको नोटमा चुच्चे नक्सा राख्ने सरकारले गरेको निर्णयबारे आलोचना गरेपछि उनी विवादमा तानिएका थिए।
राष्ट्रपतिको सल्लाहकार जस्तो व्यक्तिले सरकारको निर्णयमा आलोचना गरेको भन्दै चौतर्फी आलोचना भएपछि उनले राजनीमा दिएका थिए।
उनले बुझाएको राजीनामा आइतबार राष्ट्रपति पौडेलले स्वीकृत गरेको राष्ट्रपति कार्यालयका प्रवक्ता शैलजा रेग्मी भट्टराईले जानकारी दिइन्।
‘सम्माननीय राष्ट्रपति रामचन्द्र पौडेलज्यू समक्ष आर्थिक विज्ञ डा. चिरञ्जिवी नेपालले दिनुभएको राजीनामा सम्माननीय राष्ट्रपतिज्यूले सम्वत २०८१ वैशाख ३० गते स्वीकृत गर्नु भएको छ। साथै, सम्माननीय राष्ट्रपतिज्यूले डा. नेपालले आफ्नो पदमा रही पुर्याउनुभएको सेवाका लागि धन्यवाद समेत दिनुभएको छ,’ राष्ट्रपति कार्यालयद्वारा जारी विज्ञप्तिमा भनिएको छ।