
काठमाडौं— प्रधानमन्त्री प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले संसद्को गतिरोध अन्त्य गर्न प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसलाई छलफलमा बोलाएका छन्।
जेठ १ गते आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम प्रस्तुत गर्नुपर्ने तर, नेपाली कांग्रेसले संसद् अवरुद्ध गर्दै आएकाले सहमतिका लागि प्रधानमन्त्री प्रचण्डले आइतबार बिहान ९ बजे छलफलमा बोलाएका हुन्।
प्रमुख प्रतिपक्षीको अवरोधका कारण आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम अन्यौलमा परेपछि प्रधानमन्त्री प्रचण्डले संसद् खुलाउनेगरी पहल थालेका हुन्।
शुक्रबार (वैशाख २८) गते कांग्रेसले दुई चरण गरेर बसेको प्रतिनिधि सभा बैठकमा नाराबाजीसमेत गरेपछि स्थगित भएको थियो।
नेपाली कांग्रेसले सहकारी ठगी प्रकरणमा संसदीय छानबिन समिति बनाउनुपर्ने माग राख्दै संसद् अवरुद्ध गर्दै आएको छ भने सत्तारुढ दल त्यसमा सकारात्मक छैनन्।
कांग्रेसले निरन्तर उपप्रधान एवं गृहमन्त्री रवि लामिछानेमाथि संसदीय छानबिन समिति माग गर्दै आएको छ। शनिबार बिहानै सभापति शेरबहादुर देउवा निवास बुढानीलकण्ठमा पदाधिकारी बैठक बसेर सरकार नै संसद् चलाउने कुराबाट पछि हटेको निष्कर्ष निकालेको थियो।