News Griha :: न्यूजगृह
काठमाडौंको आकाश कहिले खुल्छ ?

काठमाडौं—  एक सातादेखि काठमाडौंको आकाशलाई धुलोयुक्त बाक्लो तुवाँलोले ढाकेको छ । मौसममा आएको फेरबदलले काठमाडौंको अधिकतम तापक्रम ३३ डिग्री हाराहारी पुगेको छ ।

मौसम बदलीसँगै अधिकतम तापक्रम निरन्तर बढिरहेकाले काठमाडौंमा निकै गर्मी महसुस गरिएको छ । जल तथा मौसम विज्ञान विभागका अनुसार एक सातादेखि अधिकतम तापक्रम बढेर तराई क्षेत्रमा ४० देखि ४३ डिग्री हाराहारी पुगेको छ ।

शुक्रबार सबैभन्दा बढी भैरहवाको अधिकतम तापक्रम ४२ दशमलव ३ डिग्रिसेल्सियस छ । नेपालगञ्ज र जनकपुरको तापक्रम ३९ डिग्रिसेल्सियस पुगेको छ । शुक्रबार काठमाडौंको अधिकतम ३३ र न्यूनतम तापक्रम १६ डिग्री सेल्सियस छ । बिहीबार काठमाडौंको अधिकतम तापक्रम ३३ डिग्रीसेल्सियस र न्यूनतम तापक्रम १५ दशमलव ८ डिग्रिसेल्सियस थियो ।

काठमाडौंमा पछिल्लो एक सातादेखि अधिकतम तापक्रम ३० देखि ३३ पुगेको छ । तापक्रम बढेकाले तराई क्षेत्रमा मात्रै नभइ काठमाडौँसहित पहाडी भेगमा समेत गर्मी बढेको छ । एकातर्फ अधिकतम तापक्रम वृद्धि भएको र अर्कोतर्फ वन डढेलोका घटना पनि बढिरहेकाले वायु प्रदूषण बढेको हो । तापक्रम वृद्धि र वन डढेलोका घटनाले काठमाडौंसहित देशभर वायु प्रदूषणसमेत बढेको विज्ञहरुको भनाइ छ । 

वातावरणविद् भूषण तुलाधरका अनुसार देशका विभिन्न भागमा लागेको डढेलोका कारण वायु प्रदूषण बढेको हो । जलवायु परिवर्तनका कारण लामो समय पानी नपरेकाले वन डढेलोका घटना बढिरहेको र यसले वातावरणमा प्रत्यक्ष असर पुर्‍याइरहेको उनले बताए । 

तापक्रम वृद्धि भएसँगै वन डढेलोका घटना पनि ह्वात्तै बढेका छन् । सुक्खा खडेरी बढ्दो क्रमसँगै बुधबार मात्र देशभर एकै दिन १७ जिल्लामा तीन सय ७९ स्थानमा डढेलो लागेको थियो । बढ्दो तापक्रम, प्रतिकूल मौसम, वनमा रहेको ज्वलनशील पदार्थको उपस्थिति तथा भौगोलिक विकटताका कारण वन डढेलो नियन्त्रण र व्यवस्थापन चुनौतीपूर्ण बन्दै गएको छ । वन तथा भू–संरक्षण विभागले दिएको जानकारीअनुसार बुधबार एकै दिन तीन सय ७९ डढेलोका घटना यस वर्षकै सबैभन्दा उच्च हो ।

वन डढेलोबाट निस्केको धुवाँका कारण देशभरको आकाश तुवाँलोले ढाकेको छ भने यसको वायु प्रदूषणले जनस्वास्थ्यमा समस्या देखिन थालेको छ ।

वातावरणविद् तुलाधरले वायु प्रदूषणका कारण मानव स्वास्थ्यमा गम्भीर असर परिरहेको बताए । उनले वायु प्रदूषणले श्वासप्रश्वास, मुटु क्यान्सरलगायत दीर्घरोगको खतरा रहेको उनको भनाइ छ । ‘वायु प्रदूषण बढ्नुमा डढेलोको पनि मुख्य भूमिका छ, वन डढेलो लाग्ने दुई कारणमध्ये पहिलो मानवीय क्रियाकलाप र दोस्रो जलवायु परिवर्तनका कारण लामो समय वर्षा नभएर सुक्खापना बढिरहेकाले डढेलोको जोखिम बढाएको छ’, उनले भने  । 

वायु प्रदूषण नियन्त्रणका लागि तत्कालै डढेलो नियन्त्रण र आगामी दिनमा यसको जोखिम न्यूनीकरणमा रणनीतिक योजना आवश्यक रहेको उनको भनाइ छ । ‘यो तापक्रम बढ्ने बेला भए पनि बीचबीचमा बादल थपिँदा तापक्रममा केही कमी हुने वा उस्तै रहने अवस्था हुन्थ्यो तर अहिले भने तापक्रम लगातार बढिरहेको छ’, मौसम पूर्वानुमान महाशाखाका मौसमविद् सञ्जीव अधिकारीले भने । साथै नयाँ मौसमी प्रणाली विकास नहुँदा मौसम स्थिर रहेको उनको भनाइ छ । 
महाशाखाका मौसमविद् गोविन्द झाले पश्चिमी वायुको सक्रियतासँगै स्थानीय वायुको प्रभाव देखिएकाले बदली र वर्षा गराएको बताए । बादल लागेर बर्सात हुने भएकाले विगत केही दिनको तुलनामा अबका दिनमा तापक्रम क्रमशः घट्ने उनको भनाइ छ । ‘अबको केही दिनसम्म यही मौसमी प्रणाली कायम रहे पनि आइतबारदेखि मौसम क्रमिकरुपमा सुधार आउने छ’, मौसमविद् झाले भने  । 

दुई वर्षअघि चैतमा वायु प्रदूषण अत्यधिक बढेकाले स्वास्थ्यमा हुनसक्ने जोखिमलाई दृष्टिगत गर्दै सरकारले चार दिन विद्यालय बन्द गरेको थियो । तराईमा तापक्रम वृद्धि भएसँगै लुसमेत चलेको थियो । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले तराईमा गर्मी बढेसँगै ‘लु’ बाट बच्न आग्रह गरेको छ ।

मन्त्रालयका सहप्रवक्ता डा.समीरकुमार अधिकारीले तापक्रम बढेसँगै तराईका जिल्लामा तातो हावासँगै लु चल्न सक्ने भएकाले बच्न सबैलाई आग्रह गरे । मन्त्रालयले तातो हावा वा लुबाट बच्नका लागि दिउँसो घरबाट बाहिर ननिस्कन, बाहिर निस्कन परे पातलो कपडाले टाउको छोप्ने वा छाता ओढ्न, फलफूलको रस र पानी पिउन तथा धेरै पसिना आएमा जीवनजल खाना आग्रह गरेको छ । 

नेपालमा खासगरी माघदेखि जेठसम्म बढी वनमा डढेलो लाग्ने गरेको छ । नेपालमा विशेषगरी तराई र भित्री मधेसका जिल्लामा वन डढेलो बढी लाग्ने गरेको विभागको वन डढेलो सूचना कक्षका सहायक वन अधिकृत गोविन्दकुमार श्रेष्ठले बताए ।  

प्रकाशित मिति: शुक्रबार, वैशाख ८, २०८०  १६:५०
Weather Update