News Griha :: न्यूजगृह
झापामा ८ सय ८५ इजाजत प्राप्त हतियार
फाइल तस्बिर

झापा— मुलुकमा पछिल्लो समय कुनै हिंसात्मक द्वन्द्वको अवस्था छैन। व्यक्तिगत असुरक्षा निम्तिने कुनै त्रासदी नहुँदा पनि झापाका सर्वसाधारणले ठूलो संख्यामा निजी हातहतियार राखेको पाइएको छ।

प्रमुख जिल्ला अधिकारी बन्धुप्रसाद बाँस्तोलाले झापामा सर्वसाधारणले आठ सय ८५ वटा निजी हतियार (बन्दुक) राख्न इजाजत लिएको बताए। उनका अनुसार भरुवा बन्दुकदेखि अर्धस्वचालित हतियार नागरिकसँग रहेको पाइएको छ।

‘सुरक्षा चुनौती विश्लेषण गरेर मात्र जिल्ला प्रशासन कार्यालयले व्यक्तिलाई हातहतियार राख्न इजाजत दिने गर्दछ। खरखजना ऐन, २०१९ र नियमावली २०२८ ले सर्वसाधारणले इजाजत लिएर व्यक्तिगत सुरक्षाका लागि हतियार राख्न पाउने व्यवस्था गरेको छ,’ प्रजिअ बाँस्तोलाले भने। 

Prabhu Bank

यसरी राखिएका हतियार जथाभावी चलाउन र सार्वजनिक रुपमा प्रदर्शन गर्न नपाइने उनको भनाइ छ। पाँच वर्षसम्म नवीकरण नभएका हतियारको इजाजतपत्र रद्द गरी जफत गर्न सकिने कानुनी व्यवस्था रहेको प्रजिअ बाँस्तोलाले जानकारी दिए। 
 
झापामा इजाजत लिएर हतियार राख्ने सर्वसाधारणले नियमित रुपमा कानुनबमोजिम नवीकरण गरेका नगरेका भन्दै चालु आवमा एक सय ३० जनाले मात्र इजाजतपत्र नवीकरण गरेका उनले जानकारी दिए।

मेडिकल व्यवसायी दुर्गा प्रसाईँले निजी सुरक्षाकर्मीले बोकेको अर्धस्वचालित हतियार सर्वोच्च अदालत परिसरभित्र बरामद भएपछि निजी हतियारको इजाजतसम्बन्धी जनचासो बढेको छ। उक्त घटनापछि प्रसाईंले हतियार राख्न लिएको इजाजतपत्रको छानबिन भएको छ भने देशैभरिका प्रशासन कार्यालयले हतियारको इजाजतलाई व्यवस्थित बनाएका छन्। साथै त्यस्ता हतियारको अभिलेख राख्ने र इजाजतको पुनरावलोकन गर्ने कार्य भइरहेको जनाइएको छ।

झापास्थित प्रशासन कार्यालयले सूचना जारी गर्दै इजाजत लिएर हतियार राखेका व्यक्तिलाई इजाजत नवीकरणका लागि हतियारसहित प्रशासन कार्यालय आउन अनुरोध गरेको छ। कतिपयले जिल्लाबाहिर इजाजत नवीकरण गरेको भए सोको जानकारी गराउन समेत प्रशासनले आग्रह गरेको छ।

कुनै हतियार सुरक्षा निकायमा बुझाइएको भए त्यसको निस्सा प्रशासन कार्यालयमा पेस गर्न सूचनामार्फत अनुरोध गरिएको छ। 

इजाजत लिएका सङ्ख्याका आधारमा नवीकरण नभएपछि प्रशासनले धेरैजसो हतियारको नवीकरण जिल्लाबाहिर भएको हुनसक्ने आशङ्का गरेको प्रजिअ बाँस्तोलाले बताए।

तीन दशकअघिसम्म झापाका देहाती गाउँमा डकैती र लुटपाटका घटना बारम्बार हुने गर्दथे। भैपरीआउने असुरक्षाका कारण पहुँचवालाले प्रशासनबाट इजाजत लिएर निजी हतियार साथमा राख्ने गर्दथे। 

पञ्चायतकालदेखि नै यहाँ निजी सुरक्षा र प्रतिष्ठाका लागि हतियार राख्ने गरेको पाइएको उनको भनाइ छ। 

दशवर्षे सशस्त्र द्वन्द्वकालमा प्रशासनले सर्वसाधारणसँग रहेका सबै हतियार बुझाउन निर्देशन दिएको थियो। जिल्लामा निजी हतियारको दुरुपयोग भएको कुनै घटना दर्ता नभएको प्रशासन कार्यालयले जनाएको छ। 

इजाजत नलिईकन कतिपय नागरिकले साना हतियार राखेको हुनसक्ने अनुमान छ। जङ्गल छेउछाउ बसोबास गर्ने कतिपय व्यक्तिले वन्यजन्तु सिकार गर्नका लागि इजाजत नलिइएको हतियार प्रयोग गर्ने गरेका हुनसक्ने बताइएको छ।

आर्थिक वर्ष २०८०–८१ मा बाह्रदशी गाउँपालिका–२ मा एउटा भरुवा बन्दुक प्रहरीले बरामद गरेको थियो। हतियार खरखजना मुद्दामा एकजनालाई मात्र अभियोग लागेको थियो। ‘वन्यजन्तु सिकारमा बन्दुकको प्रयोग भएका घटना भने छन्,’ वन्यजन्तु तथा चरा संरक्षण समाज मेचीनगरका अध्यक्ष देवेन्द्र खरेलले भने। 

गत वैशाख ४ गते मेचीनगर–१२ स्थित कालिका सामुदायिक वनभित्र एउटा भाले हात्ती गोली हानेर मारिएको अवस्थामा फेला परेको थियो। दुवै दाह्रा फेदैबाट काटेर लगिएको अवस्थामा भेटिएको हात्तीको निधार र कान छेउमा गोली लागेको पाइएको उनले जानकारी दिए।

‘हात्तीको निधारमा सिधा गोली हानिएको छ, चोरी–सिकारीले नै यो घटना गराएको हो। वन्यजन्तु मार्ने दोषी पक्राउ गरेर कानुनी कारबाही हुनुपर्ने माग गर्दै आएका छौँ,’ खरेलले भने, ‘पहिले हरिण र बँदेलको सिकार गर्नेहरुले हतियारको प्रयोग गर्थे। हात्तीको दाह्रा तस्करी गर्ने गिरोह अब झापामा सक्रिय भएको पुष्टि भएको छ।’ 

हात्तीलाई गोली हानेर मार्ने गिरोह अहिलेसम्म पक्राउ नपरेको उनको भनाइ छ।

Nepali-Patro-innerNepali-Patro-inner
प्रकाशित मिति: बुधबार, वैशाख २६, २०८१  १३:४४
Weather Update