News Griha :: न्यूजगृह
प्रधानमन्त्रीले गरे सुनकोशी मरिण डाइभर्सन सुरुङको ‘ब्रेक थ्रु’ 

काठमाडौं— राष्ट्रिय गौरवको आयोजनाका रुपमा रहेको सुनकोशी मरिण डाइभर्सन परियोजनाको सुरुङको ‘ब्रेक थ्रु’ भएको छ। 

बुधबार प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले स्वीच थिचेर सिन्धुलीकाे सुनकोशी गाउँपालिका–७ को कानढुंग्रीमा रहेको सुरुङको ‘ब्रेक थ्रु’ गरेका हुन्। 

तराई–मधेसका विभिन्न जिल्लामा बाह्रै महिना सिँचाइ सुविधा पुर्याउने लक्ष्यका साथ सुरु गरिएको निर्माण प्रक्रियामा उल्लेख्य सफलता हासिल भएको हो।

Prabhu Bank

सुनकोशी मरिण डाइभर्सन आयोजनाका प्रमुख मित्र बरालका अनुसार कूल १३.३ किलोमिटर लामो सुरुङको ‘ब्रेक थ्रु’ भएको हो। 

सुरुङ निर्माणको कूल अवधि दुई वर्षको भए पनि त्यसभन्दा धेरै अगाडि झन्डै १९ महिनामा सम्पन्न भएको हो। भौगोलिक जटिलताका कारण केही समय मेसिन नरोकिएको भए अझै चाँडो सुरुङ छिचोलिने थियो। सुरुङ छिचोलिए पनि अन्य आवश्यक काम पूरा गर्न थप एक वर्ष लाग्नेछ। 

सुरुङ निर्माणमा अटोमेटिक टनेल बोरिङ मेसिन (टीबीएम) प्रयोग गरिएको छ। भेरी बबई डाइभर्सन आयोजनापछि सुनकोशी मरिणमा पनि टीबीएम मेसिन प्रयोग गरिएको हो। उपकरण प्रयोग गरी सुरुङ निर्माण गर्दा त्यसले सकारात्मक प्रभाव पारेको र अन्य आयोजना पनि त्यस्तै उपकरणको प्रयोग गर्न सकारात्मक वातावरण बनेको बताइएको छ।

आयोजनाको २०७९ असोज २८ गतेदेखि निर्माण सुरु गरिएको थियो। नेपालका विद्युत् तथा अन्य सिँचाइका आयोजनामा सुरुङ निर्माण भए पनि सो आयोजनामा टनेल बोरिङ मेसिन टीबीएम प्रयोग गरेर खनिएको भने दोस्रो पटक हो।

यसअघि भेरी–बबई डाइभर्सन आयोजनामा पनि टीबीएमको प्रयोग गरिएको थियो। पहाडी भूभाग बढी भएको नेपालमा सुरुङ खन्न अब टीबीएम प्रभावकारी उपकरणका रुपमा स्थापित भएको छ।

आयोजनाको मुख्य उद्देश्य विद्युत् उत्पादनसँगै बागमती सिँचाइ आयोजनाको पूर्वाधार प्रयोग गरेर तराईका बारा, रौतहट, सर्लाही, महोत्तरी र धनुषामा एक लाख २२ हजार हेक्टर क्षेत्रमा सिँचाइ सुविधा पुर्‍याउने लक्ष्य छ। आयोजनाको कुल लागत ४९ अर्ब ४२ करोड रहेको आयोजनाले जनाएको छ।

Nepali-Patro-innerNepali-Patro-inner
प्रकाशित मिति: बुधबार, वैशाख २६, २०८१  १२:२४
Weather Update