
महेन्द्रनगर— शुक्लाफाँटा राष्ट्रिय निकुञ्ज कार्यालयमा विगत पाँच वर्षदेखि ‘माहुत’ पदमा कार्यरत विमला चौधरी यतिबेला चितवनबाट ल्याइएको हात्तीको छावा ‘शेषराजगज’को स्याहारमै व्यस्त छिन् ।
कञ्चनपुरको शुक्लाफाँटासित जोडिएको भीमदत्त नगरपालिका– १४बनकट्टटीकी ३० वर्षीया विमला निकुञ्जकी पहिलो र एक मात्रै महिला माहुत हुन् ।
जागिरमा प्रवेश गरेदेखि नै निकुञ्जको पिपरिया हात्तीसारमा कार्यरत विमलाले हात्तीसारमा रहेकी शारदाकलीको निधनपछि शेषराजगजकोस्याहारसुहारको जिम्मेवारी पाएकी हुन् । ‘बिहान हात्तीलाई नुहाउनदेखि जङ्गलमा चराउने, खुवाउने र स्याहारलगायत काम गर्दै आएकी छु’, विमलाले भनिन्, ‘जागिरको सुरुआतमा जनावरसँगको घुलमिल नहुँदा काम गर्न असहज भएको थियो, पछि बानी पर्दै जाँदा सहज बन्दै गयो ।’
निकुञ्जभित्र पिपरिया, शुक्ला र मालुमेला गरी तीन स्थानमा हात्तीसार छन् । ३०५ वर्ग किलोमिटर क्षेत्रफलमा फैलिएको शुक्लाफाँटा राष्ट्रिय निकुञ्जमा पछिल्ला वर्षमा वन्यजन्तुको सुरक्षाका लागि ६ हात्तीद्वारासमेत गस्ती गरिन्छ । शेषराजगज छावा भने गत पुसमा मात्र पिपरिया हात्तिसारमा राखिएको विमलाले बताइन् ।
हात्तीको स्याहारदेखि गस्ती लैजाँदासम्मका लागि माहुत, पछुवा र फणित खटिने गरेका छन् । निकुञ्जमा हात्तीका लागि मात्र २१ कर्मचारी खटिएका छन् । ‘शारदाकली हुँदासम्म एक्लै पनि चराउन धेरै टाढासम्म जङ्गल पसेकी छु’, विमलाले भनिन्, ‘अहिले शेषराजगज सानै भएकाले हात्तीसारबाहेक अन्यत्र जानु परेको छैन ।’
शुक्लाफाँटा नगरपालिका–३ जोनापुरका गोपाल चौधरीसित घरजम गरेकी विमलाका एक वर्षीय छोरा छन् । ‘छोरा सानै छ, उसको र शेषराजगजको स्याहारको जिम्मेवारी मेरै काँधमा छ’, उनले भनिन, ‘दुवैका लागि समय व्यवस्थापन गरेर अघि बढेकी छु ।’ घरमा पशुचौपायाका लागि घाँस आहारा खोज्ने विमलाकोब्यस्तताहात्तिसारमा पनि उत्तिक्कै बढी छ ।
‘जनावरसितको काम चुनौतीपूर्ण नै हुन्छ, कति बेला कुन मुडमा हुन्छन् भर नै हुँदैन’, उनले भनिन्, ‘अहिलेसम्म विना डरत्रास काम गरेकी छु ।’ विमलाले निकुञ्जमा जागिर सुरु गरे ५ वर्ष भयो । ‘आफूले रातदिन स्याहारसुसार गरेको जनावरको मृत्यु हुँदा निकै दुःख लाग्छ’, विमला भन्छिन्, ‘ठूला हात्तीसित काम गर्न धेरै सक्रियता चाहिने रहेछ ।’
विश्वमै दुर्लभ बाह्रसिङ्गेको प्रमुख बासस्थान हो शुक्लाफाँटा । यहाँ ३६ पाटे बाघ, १७ गैँडालगायत चराचुरुङ्गी पाइन्छन् । निकुञ्जमा आउने पर्यटकले हात्ती शयरको अवसर पाउन सकिरहेको छैनन । शुक्लाफाँटा राष्ट्रिय निकुञ्ज कार्यालयका रेञ्जर प्रयास केसीले शुक्लाफाँटामा दश हात्तीको दरबन्दी रहेको बताउँछन् । ‘अहिले एउटा छावा (बच्चा) सहित सात हात्ती मात्रै छन्’, उनले भने । २०२६ सालमा सिकार आरक्षकारुपमा स्थापना भएको शुक्लाफाँटा २०७३ साल फागुनमा राष्ट्रिय निकुञ्ज घोषणा गरिएको हो ।
अभाव देखाउँदै निकुञ्ज प्रशासनले माथिल्लो निकायमा आवश्यकताअनुसार हात्तीको माग गरे पनि यसको सुनवाई हालसम्म भएको छैन । चोरी शिकारी नियन्त्रणका लागि गस्ती गर्न हात्तीको प्रयोग गर्नुपर्ने हुन्छ । हात्तीमा गस्ती गर्दा ‘फणित’ले नेतृत्व गर्छन् । हात्ती हाँक्ने, चराउनेदेखि स्याहारसुसार गर्ने कार्यका लागि निकुञ्जमा फणित, पछुवा र माहुत गरी तीन पदमा कर्मचारी कार्यरत छन् ।