News Griha :: न्यूजगृह
बागमती प्रदेशले वैशाख २८ गतेदेखि युवा सम्मेलन गर्दै 
सांकेतिक तस्बिर

काठमाडौं— बागमती प्रदेश युवा परिषद्ले दोस्रो प्रदेश युवा सम्मेलन आयोजना गर्न लागेको छ। 

सामाजिक विकास मन्त्रालयअन्तर्गत प्रदेश युवा परिषद्ले आगामी वैशाख २८, २९ र ३० गते आयोजना गर्न लागेको सम्मेलनको तयारी अन्तिम चरणमा रहेको प्रदेश युवा परिषद्का कार्यकारी उपाध्यक्ष सन्तोष चौँलागाँई जानकारी दिए। 

Prabhu Bank

युवालाई सामाजिक र सार्वजनिक जीवनमा सहभागी गराउने, नवप्रवर्तन र उद्यमशीलता विकास गर्ने उद्देश्यले सम्मेलनको आयोजना गरिन लागेको चौँलागाईंले बताए। 

परिषद्ले प्रदेश युवा नीति–२०७९ तयार पारेपछि प्रदेशमा युवाका लागि काम गर्न आवश्यक सल्लाह, सुझाव सङ्कलन गर्न र अवधारणा निर्माण गर्न पनि सम्मेलन उपयोगी हुने विश्वास उनले व्यक्त गरे। युवा पुस्तामा चरम निराशाबीच आशा जगाउन युवा सम्मेलन आवश्यक रहेको उनको भनाइ छ।

युवा सम्मेलनमा दुई सयजना युवाको सहभागिता रहने बताइएको छ। सम्मेलनमा विभिन्न कार्यशाला हुनेछ। युवा सम्मेलनको अन्तिम दिन मुख्यमन्त्रीसँग युवा कार्यक्रम गरी समापन गरिने उपाध्यक्ष चौँलागाईंले जानकारी दिए। 

युवा सम्मेलनपश्चात ‘युवा सिप वर्ष २०८१’ घोषणा गरिने उनको भनाइ छ। यस वर्ष प्रदेशका पाँच हजार युवालाई १० वटा क्षेत्रमा एक सयभन्दा माथिको पेसाका सिप सिकाई सीप परीक्षणपश्चात टेवा पूँजी प्रदान गरिने उनले बताए।

निर्माण, कृषि, सेवा, होटल तथा पर्यटन, होजियारी तथा तयारी पोसाक र सूचना तथा सञ्चारको क्षेत्रमा तालिम दिइनेछ। तालिम स्थानीय तह, सामुदायिक विद्यालय, कलेज, सामाजिक संस्थाको समन्वयमा सञ्चालन हुनेछ। तालिमपश्चात् सामाजिक विकास मन्त्रालय, सिटिइभिटी र प्रदेश युवा परिषद्को त्रिपक्षीय सम्झौतामा सीप परीक्षण हुने चौँलागाइँले बताए।

Nepali-Patro-innerNepali-Patro-inner
प्रकाशित मिति: मंगलबार, वैशाख २५, २०८१  १७:४०
Weather Update