News Griha :: न्यूजगृह
गण्डकी प्रदेशका सभामुखविरुद्ध कांग्रेसद्वारा सर्वोच्चमा रिट दायर  

काठमाडौं— गण्डकी प्रदेश सभाका सभामुख कृष्णप्रसाद धितालविरुद्ध सर्वोच्चमा रिट दायर भएको छ। 

मुख्यमन्त्री खगराज अधिकारीको पक्षमा ३० मत रहँदा सभामुख धितालले बहुमत पुगेको र मुख्यमन्त्रीले विश्वासको मत प्राप्त गरेको घोषणा गरेका थिए। ६० सदस्यीय गण्डकी प्रदेश सभामा बहुमतका लागि ३१ मत आवश्यक पर्ने भएपनि सभामुखले ३० मतमा नै बहुमत पुगेको दाबी गरेपछि त्यसको विरुद्ध कांंग्रेसले सर्वोच्चमा रिट दायर गरेको हो। 

Prabhu Bank

नेपाली कांग्रेस गण्डकी प्रदेश सभा संसदीय दलका नेता सुरेन्द्रराज अधिकारीले सभामुखविरुद्ध आज सर्वोच्चमा रिट दायर गरिएको न्यूजगृहलाई जानकारी दिए। 

मुख्यमन्त्रीले लिएको विश्वासको मत खारेजीको मागसहित संविधानको धारा १६८ को उपधारा ३ बमोजिम ठूलो दलका नेतालाई मुख्यमन्त्री बनाउन परमादेश जारी गर्न माग गर्दै रिट दायर गरिएको उनले बताए। 

‘प्रदेश सभामा बहुमत नभएको अवस्थामा सभामुखले असंवैधानिक तरिकाले विश्वासको मत प्राप्त गरेको घोषणाविरुद्ध रिट दायर गरेका छौँ, विश्वासको मत खारेजीसहित संविधानको धारा १६८ (३) बमोजिम ठूलो दलको नेतालाई मुख्यमन्त्री बनाउन परमादेश जारी गर्न माग गरिएको छ,’ उनले भने। 

गण्डकीका मुख्यमन्त्री अधिकारीलाई उनको दल नेकपा एमालेसहित माओवादी केन्द्र र स्वतन्त्र प्रदेश सभा सदस्य राजीव गुरुङ (दिपक मनाङे) को समर्थन रहेको छ। 

एमालेका २२, माओवादीका ७ र १ स्वतन्त्र गरी ३० मत मात्रै उनको पक्षमा देखिएको छ। 

यसअघि पनि मुख्यमन्त्रीको दाबी पेस गर्दा सभामुखको संलग्नता रहेको भन्दै कांग्रेसले रिट दायर गरेको थियो। सर्वोच्चले प्रदेश सभामा मुख्यमन्त्री अधिकारीको ३० मतमै बहुमत पुग्ने र विश्वासको मत प्राप्त गर्न सक्ने व्याख्या गरेको थियो।  

Nepali-Patro-innerNepali-Patro-inner
प्रकाशित मिति: मंगलबार, वैशाख २५, २०८१  १३:५९
Weather Update