News Griha :: न्यूजगृह
पर्यटकको रोजाइमा किन पर्‍यो जलविरे झरना ?

चितवन— चितवनको इच्छाकामना गाउँपालिका–६ जलविरेमा अवस्थित जलविरे लामो झरनामा पर्यटकीय गतिविधि बढ्दै गएको छ । गर्मी याममा झरनामा आउने पर्यटकको सङ्ख्यामा वृद्धि भएको छ । जलविरे झरना पर्यटन विकास समितिका अध्यक्ष देवकुमार गुरुङले गर्मी सुरु भएसँगै दैनिक झरनामा आउने पर्यटकको सङ्ख्या बढ्दै गएको बताए ।

‘दैनिक दुई सयको हाराहारीमा पयर्टक यहाँ आउने गरेका छन्’, उनले भने । शनिबार र सार्वजनिक बिदाका दिन भने घुइँचो लाग्छ । नयाँ वर्षको पहिलो दिन एक हजार एक सय ५० जनाले टिकट काटेको तथ्याङ्क छ । झरना रहेको वडा नं ६ का बासिन्दालाई भने निःशुल्क प्रवेशको व्यवस्था गरिएको छ । ‘यहाँ झरना अवलोकनका लागि बाह्रैमास पर्यटक आउने गरेका छन्’, अध्यक्ष गुरुङले बताए ।

पर्यटक लोभ्याउनका लागि यहाँ भौतिक पूर्वाधारसमेत निर्माण गरिएका छन् । केन्द्र, प्रदेश सरकार र गाउँपालिकाले विभिन्न संचरना निर्माण गरेका हुन् । झरनासम्म सडक ढलान तथा कालोपत्र गरिएको छ । सिँढी, रेलिङ, गोलघर, प्रवेशद्वार, टिकट घर, धारा, शौचालयलगायत संरचना निर्माण गरिएका छन् ।

इच्छाकामना गाउँपालिकाका अध्यक्ष दानबहादुर गुरुङले उक्त झरना आन्तरिक आयतर्फ गाउँपालिकाले सबैभन्दा बढी आम्दानी गर्ने पर्यटकीय गन्तव्य भएको बताए । पछिल्लो छ महिनामा गाउँपालिकाले झरना आउने पर्यटकबाट प्रवेश शुल्कवापत १४ लाख रुपैयाँ बढी आम्दानी गरेको गुरुङको भनाइ छ । उनका अनुसार झरनामा प्रवेश गर्न आन्तरिक पर्यटकले ५० र विदेशीले १०० रुपैयाँ शुल्क तिर्नुपर्छ ।

झरना नारायणगढ–मुग्लिन सडकबाट नजिकै रहेका कारण पर्यटक सजिलै पुग्न सक्छन् । चितवनमा पहिचान भएका पर्यटकीय गन्तव्यमध्ये जलविरे लामो झरना उत्कृष्ट गन्तव्यभित्र पर्छ । यहाँ पर्यटक स्वफूर्तरूपमा आउँछन् । सुन्दर प्राकृतिक मनोरम दृश्य तथा लामो छाँगाबाट झरेको पानीको फोहरा र त्यसबाट आउने शीतल पानीका कण र चिसो हावाको स्पर्शले पर्यटकलाई लोभ्याइदिन्छ ।

 

प्रकाशित मिति: शुक्रबार, वैशाख ८, २०८०  ०८:३९
Weather Update