राहदानी बनाइदिने बहानामा ठगी गर्ने तीन जना पक्राउ

काठमाडौं— प्रतिव्यक्ति २८ हजार रुपैयाँमा राहदानी बनाइदिन्छु भन्दै ठगी गरेको आरोपमा प्रहरीले तीन जनालाई पक्राउ गरेको छ ।
ठगी आरोपमा चन्द्रागिरि नगरपालिका–२ मगर गाउँका ३४ वर्षीय स्माइल स्टार पुनसहित तीन जनालाई बिहीबार प्रहरीले पक्राउ गरेको हो ।
काठमाडौं महानगरपालिका–११ त्रिपुरेश्वरस्थित श्री फ्रिया ट्राभल्स एन्ड टुर्स प्रालि सञ्चालन गर्ने पुनलगायतले रकम दिए राहदानी बनाइदिन्छु भन्दै ठगी गरेको भन्ने सूचनाका आधारमा प्रहरी वृत्त कालीमाटीबाट खटिएको प्रहरी टोलीले उनीहरूलाई नियन्त्रणमा लिएको हो ।
उक्त प्रालिमा खानतलासी गर्दा प्रहरीले कम्पनीबाट विभिन्न व्यक्तिका पाँच थान राहदानी, एक थान कम्युटर तथा अन्य महत्त्वपूर्ण कागजपत्र बरामद गरिएको छ । घटनाबारे प्रहरीले थप अनुसन्धान गरिरहेको जनाएको छ ।
प्रकाशित मिति: शुक्रबार, वैशाख ८, २०८० ०८:१३