News Griha :: न्यूजगृह

पञ्चकुण्ड ताल म्याग्दीको अन्नपूर्ण गाउँपालिका–४ स्थित चार हजार १९० मिटर उचाइमा छ। यो मनमोहक र आकर्षक तालमा परापूर्वकालमा भगवान् शिवले बास गरेको बताइन्छ। 

नीलगिरि हिमाल र अन्नपूर्ण हिमाल (पहिलो) ८०९१ मिटर उचाइबाट हिउँ पग्लेर ताल बनेको छ। विश्वकै उत्कृष्ट मौरिस हर्गोज पद मार्गको गन्तव्यमा पर्ने यो ताल पञ्चकुण्ड धामले समेत परिचित छ। 

करिब २० हजार वर्गमिटर क्षेत्रफलमा फैलिएको पाँच भागमा बनेको ताल नजिकै भगवान् शिवको मन्दिर पनि छ। यस तालमा स्नान गरी नजिकै रहेको शिव मन्दिरमा पूजाआजा गरे पाप नष्ट हुने धार्मिक विश्वास छ। हिमालको आधार शिविरमा अवस्थित यस तालको प्राकृतिक सौन्दर्य लोभलाग्दो छ। 

ताल अन्नपूर्ण गाउँपालिकाको केन्द्र पोखरेबगरदेखि ४३ किलोमिटरको दूरीमा छ। हुमखोलादेखि २१ किलोमिटर पैदल यात्रापछि उत्तरी अन्नपूर्ण आधार शिविर पुग्न सकिन्छ। तालको माथि चार हजार ३०५ मिटर उचाइमा अन्नपूर्ण आधार शिविर छ।

तस्बिर: सन्तोष गौतम/रासस    

प्रकाशित मिति: शनिबार, वैशाख २२, २०८१  १६:४२
Weather Update