News Griha :: न्यूजगृह
सुनका गरगहनासहित पक्राउ परेका दुई जना सार्वजनिक

नेपालगञ्ज— बाँकेको नेपालगञ्जस्थित न्युरोडबाट पक्राउ गरिएको करिब पाँच किलो अवैध सुनका गरगहनासहित दुई जनालाई प्रहरीले बिहीबार सार्वजनिक गरेको छ ।

जिल्ला प्रहरी कार्यालय बाँकेले पत्रकार सम्मेलनमार्फत चार दशमलव ९२७ किलोग्राम सुनका विभिन्न गरगहनासहित पक्राउ परेका दुई जनालाई सार्वजनिक गरेको हो ।

पक्राउ हुनेमा विराटनगर महानगरपालिका–९ का ४२ वर्षीय रमेश सोनी र सोही ठाउँका ३६ वर्षीय प्रकाश ठाकुर रहेको जिल्ला प्रहरी कार्यालय बाँकेका प्रहरी उपरीक्षक सन्तोषसिंह राठौरले जानकारी दिए ।

पक्राउ परेकाहरूका साथबाट सुनका सिक्री, चुरा, झुम्का, हार, ब्रासलेट, मङ्गलसूत्र, बाला, ढुङ्ग्री, औँठीलगायत गहना बरामद गरेको प्रहरी उपरीक्षक राठौरले बताए ।

उनीहरूसँगबाट इस्टिमेट बिलको ठेली एक थान, डिजिटल तराजु एक थान, विभिन्न मितिमा विभिन्न स्थानमा बिक्री गरेको इस्टिमेट बिलहरू १४ थान, एनआइसी एसिया बैंकमा सात लाख ३३ हजार चार सय रुपैयाँ जम्मा गरेको भौचर, प्रकाश ठाकुरको नाममा तीन लाख ८६ हजार चार सय रुपैयाँ काटेको एनएमबी बैंकको चेक र विभिन्न दरको नोट गरी नगद ३५ हजार रुपैयाँ बरामद गरिएको उनको भनाइ छ ।

गरगहना झोलामा राखेर हिँडिरहेको सुराकीका आधारमा बुधबार राति गहनासहित सोनी र ठाकुरलाई पक्राउ गरिएको थियो । सुन कहाँबाट आएको भन्ने विषय अनुुसन्धान भइरहेको प्रहरीले जनाएको छ । बरामद गरिएको सुनको मूल्य करिब चार करोड ६९ लाख पाँच हजार सात सय ६३ रुपैयाँ रहेको छ ।

प्रकाशित मिति: बिहीबार, वैशाख ७, २०८०  २१:५१
Weather Update