काठमाडौं— झापाको दमकमा कक्षा १२ को परीक्षा दिएर फर्किएकी एनिका अधिकारीमाथि गोली प्रहार गर्नेलाई प्रहरीले पक्राउ गरेको छ।
पक्राउ पर्नेमा सिराहाका अमितकुमार यादव रहेको प्रहरीले जनाएको छ।
उदयपुर घर भई दमकमा डेरा गरी बस्दै आएकी एनिकामाथि शुक्रबार दिउँसो करिब साढे १२ बजेको समयमा गोली प्रहार भएको हो।
दमकस्थित हिमालय माविबाट कक्षा १२ को परीक्षा दिएर कोठातर्फ फर्किरहेको अवस्थामा उनीमाथि दमक नगरपालिका–५ स्थित ज्येष्ठ नागरिक प्रतिष्ठान नजिकै गोली प्रहार भएको हो। उनको पेटमा एक राउन्ड गोली लागेको प्रहरीले जनाएको छ।
घाइते एनिकाको लाइफलाइन अस्पतालमा उपचार भइरहेको र चिकित्सकले उनको पेटबाट एउटा गोली निकालेको अस्पताल स्रोतले जनाएको छ।
अहिले घटनाबारे बुझ्न जिल्ला प्रहरी कार्यालय झापाका एसपी मिलन केसीसहितको टोली अस्पताल पुगेको छ।
‘अहिले घटनाको विस्तृत विवरण आइसकेको छैन। हामी घटनास्थल पुगेर त्यसबारे बुझ्दैछौँ,’ एसपी केसीले भने।