काठमाडौं— अरुको नागरिकता प्रयोग गरी कन्सल्टेन्सी चलाएर जापान पठाइदिने प्रलोभनमा पारी करोडौँ ठगी गर्ने दुई जनालाई प्रहरीले पक्राउ गरेको छ।
पक्राउ पर्नेमा रामेछाप लिखु तामाकोशी ७ घर भई काठमाडौंको कागेश्वरी मनहरा बस्दै आएका राजन श्रेष्ठ र झापा गौरादह घर भएका ईश्वरी पाण्डे रहेका छन्।
प्रहरीका अनुसार उनीहरूले जापान पठाइदिने भन्दै करिब तीन करोड ठगी गरेका हुन्।
नारायणबहादुर राईको नागरिकता दुरुपयोग गरी पुतलीसडकमा नियोनी एजुकेशन कन्सल्टेन्सी दर्ता गरी नारायण बहादुर राईको नाममा चलाउँदै आएका उनीहरुले जापान पठाउने भनी चार लाखदेखि सातलाख रुपैयाँसम्म उठाउने गरेको प्रहरीले जनाएको छ।
ईश्वरी पाण्डेले पनि पर्वराज पाण्डेको हराएको नागरिकताको दुरुपयोग गरी उनको नाममा बैंक खोली रकम जम्मा गर्ने गरेका थिए।
उनीहरुले २ सय भन्दा बढी व्यक्तिहरुलाई आकर्षक रोजगारी र विद्यार्थी भिषामा जापान पठाइ दिने भन्दै ३ करोड ठगी गरेको प्रहरीको अनुसन्धानले देखाएको छ।
तीन वर्षदेखि पठाओ चलाउँदै आएका नागरिकता धनी नारायणबहादुर राईले आफ्नो नागरिकता १५÷१६ वर्ष अगाडि हराएको प्रहरीमा बयान दिएका छन्।